इटहरीः इटहरी उपमहानगरपालिकाका अधिकांश भित्री बाटा रङ्गीन देखिन थालेका छन् । धुलोरहित वडा बनाउने अभियान अन्तर्गत वडा नम्बर ४ मा बाटो मर्मतको काम भइरहेको छ । अघिल्ला वर्षमा कालोपत्रे गरिने बाटाहरू अहिले टायल लगाएर रङ्गीन बनाउन थालिएको छ ।
ठूला गाडी नगुड्ने सडकमा कालोपत्रे गर्ने चलन नै हराइसकेको छ । कालोपत्रे गर्दा भन्दा कम लगानीमा आकर्षक बाटो बन्ने भएपछि टायलप्रति उपभोक्ताको आकर्षण बढेको हो । २५ प्रतिशत कम लागतमा निर्माण सम्पन्न हुने भएकाले टायल बिछ्याउने कामलाई प्राथमिकता दिने गरिएको छ ।
यही एक वर्षमा इटहरीको ४ नम्बर वडाभरी मात्रै सरदर ५ किलोमिटर बाटोमा टायल बिछ्याइएको छ । हेर्दा आकर्षक देखिने र कम लागतमा निर्माण सम्पन्न हुने भएकाले उपभोक्ताले टायल नै रोज्ने गरेको उपमहानगरका वरिष्ठ इञ्जिनियर अर्जुन दाहालले बताए ।
इटहरी उपमहानगरपालिका वडा नम्बर ४ जस्तै हरेक शहरका भित्री बाटा रङ्गीन बन्न थालेका छन् । त्यसैले गर्दा पछिल्लो समय टायल र ब्लक बनाउने कम्पनीको सङ्ख्या बढिरहेको छ । केही समय अगाडिमात्र स्थापना भएको ‘ज्ञानु कङ्क्रिट उद्योग प्रालि’ ले माग धान्न नसक्ने अवस्थामा पुगेको कम्पनीका सञ्चालक ज्ञानु बस्नेतले बताए । ‘पहिला चल्छ कि चल्दैन भन्ने अवस्था थियो,’ उनले भने, ‘तर अहिले मागअनुसार सामान पु¥याउन समस्या परिरहेको छ ।’
इटहरीलगायत हरेक शहरका भित्री बाटाहरू आजकल रङ्गीन बन्न थालेका छन् । छोटो समयमा नै बिना झन्झट निर्माण हुने भएकाले यो विकल्प उपयुक्त हुने गरेको बगैंचा टोल विकास संस्थाका अध्यक्ष सुनिल कार्की बताउँछन् । उनका अनुसार कालोपत्रे भन्दा सस्तो र टिकाउ हुने भएकाले टायल उपयुक्त भएको हो । कालेपत्रे भत्किएको स्थानमा टाल्न समय लाग्ने तर टायल फुटेको खण्डमा तुरुन्त नयाँ टायल फेर्न सकिने उनको भनाइ छ ।
कालोपत्रे भन्दा वातावरणमैत्री, सस्तो, टिकाउ र आकर्षक देखिने हुनाले बगैचा टोल विकास संस्थामा टायलको प्रयोगलाई प्राथमिकता दिइएको उनले बताए ।