भोजपुरः भोजपुरको अरुण गाउँपालिकामा भइरहेको संवैधानिक व्यवस्था र कार्यान्वयन विषयक गोष्ठीमा वक्ताले जातीय विभेद अन्त्य गर्न गैर दलित समुदाय नै बढी क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् ।
दलित उत्थान ग्रामीण समाज भोजपुरको आयोजनामा भइरहेको गोष्ठीमा बोल्दै अरुण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप गौतमले २१ औ शताब्दीमा पनि जातका कुरामा अलमल गर्न नहुने बताए । दलित समुदायलाई भेदभाव नगरी व्यवहार गरेर समतामूलक समाज निर्माण गर्नुपर्ने उनको भनाइ थियो ।
प्रमुख सहजकर्ता दलित अधिकारकर्मी तारा लामगादेले खस, आर्य तथा मङ्गोल समुदायका मानिसमा वर्णवादी व्यवस्थाको प्रभाव र मनुस्मृतिमा आधारित हिन्दू राज्यले निर्धारण गरेको जातिप्रथाको अन्त्य गर्न समाजका सबै सचेत वर्ग लाग्नुपर्ने बताए । उत्पीडनको विरुद्व दलित समुदायले लामो समयदेखि सङ्घर्ष गर्दै आएकाले अबको आन्दोलन दलितहरूले मात्र गरेर नहुने उनले बताए ।
ग्रामीण समाज भोजपुरका अध्यक्ष बबिन्द्र रसाइलीले राज्यले लामो समयदेखि दलित समुदायमाथि विभेद गरेकाले आफूहरूलाई क्षतिपूर्ति दिनुपर्ने बताए । कानुनले निषेध गरेका क्रियाकलाप गर्ने अपराधीलाई कानुनी सजाय नभएको उनले बताए ।
कार्यक्रममा अरुण गाउँपालिकाका ७ वटै वडाका दलित महिला, वडा सदस्य, सामाजिक सङ्घ संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो । चैत २० गते शुरु भएको कार्यक्रम २४ गते सम्पन्न हुने बताइएको छ ।