झापाः सङ्घीय सांसद सुरेन्द्रकुमार कार्कीले स्थानीय तथा सामाजिक सङ्घ संस्थाको निर्वाचनमा दलीय भागबण्डा वा प्रतिस्पर्धा गर्न नहुने बताएका छन् ।

हिजो धुलाबारी खानेपानी उपभोक्ता समितिको १८ औँ वार्षिक साधारण सभाको उद्घाटनका क्रममा बैशाख १४ गते हुन गइरेहको संस्थाको निर्वाचनतर्फ इङ्गित गर्दै उनले यस्तो बताएका हुन् । ‘अब हामी राष्ट्रिय राजनीतितर्फको निर्वाचनमा दलिय प्रतिस्पर्धा गरौँ’ कार्कीले भने, ‘तर खानेपानी, शिक्षण संस्था, धार्मिक सङ्घ संस्था, वनलगायत सामाजिक संघ संस्थामा दलीय प्रतिस्पर्धा नभएर सर्वसम्मत नेतृत्व चयन गर्ने कुराको विकास गरौ ।’

सांसद् कार्कीले पानी मानिसको जीवनमा अत्यवश्यक वस्तु भएकाले यसको स्रोतमा हानी नोक्सानी हुने काम कसैले पनि गर्न नहुने बताए । पानीको महत्वलाई बुझेर यसको दरुपयोग रोक्न सांसद् कार्कीले सबै पक्षलाई आग्रह समेत गरे ।

साधारण सभाको अवसरमा संस्थाका अध्यक्ष इन्द्रबहादुर बुढाथोकीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा मुहानको संरक्षणका लागि सम्बन्धित सबैको ध्यानाकर्षण गराउनु आवश्यक रहेको बताए । संस्थाले आगामी बैशाख १४ गते शनिबार हुने निर्वाचनका लागि अशोककुमार पोखरेलको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।