बेलबारीः केही वर्ष यतादेखि नेताका नाममा भन्दा स्थानीय पहिचान बनाउन तथा ठाउँलाई चिनाउन पार्क तथा स्तम्भ निर्माण हुन थालेको छ । प्रदेश नम्बर १ का विभिन्न स्थानमा पछिल्लो समय ठाउँ विशेषका स्तम्भसमेत बनिरहेका छन् ।

प्रदेश नम्बर १ को तेह्रथुमको म्याङलुङ नगरपालिकामा बिरालाको स्तम्भ बनाइएको छ । लिम्बू जातिको बाहुल्यता रहेको उक्त स्थानमा म्याङलुङको पहिचान जनाउनका लागि बिरालाको स्तम्भ बनाइएको हो । लिम्बू भाषामा म्याङलुङको अर्थ ढुङ्गामाथि चढेको बिरालो भन्ने हुन्छ ।
यस्तै, तेह्रथुमको लसुनेमा लसुनको स्तम्भ बनाइएको छ भने वसन्तपुरमा लालीगुराँसको स्तम्भ निर्माण गरिएको छ । ती स्तम्भहरूमा फोटो खिच्नकै लागि भए पनि पर्यटक आउने गरेका छन् । तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको वसन्तपुरमा निर्माण गरिएको गुराँसको स्तम्भले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।
गुराँसको राजधानी जाने पर्यटकहरूलाई सो स्तम्भले स्वागत गर्ने गरेको लालीगुराँस नगरपालिकाकी उपमेयर तिला पोख्रेलले बताइन् । पैदलयात्रीदेखि निजी तथा अन्य सावारीका साधनमा यात्रा गर्ने यात्रुले समेत बाटोमा फोटो खिच्ने गरेको उनले बताइन् ।

यस्तै, धनुकटाको सिँधुवा बजारमा काउलीको स्तम्भ बनाइएको छ । तरकारी पकेट क्षेत्रका रूपमा चिनिएको सिँधुवा बजारमा काउलीको स्तम्भ बनाइएको हो । उता, धनकुटाको छथर जोरपाटी गाउँपालिकामा पर्ने हात्तीखर्कमा हात्तीको स्तम्भ बनाइएको छ ।
धनकुटाको हिलेमा तोङ्वाको स्तम्भ निर्माण गरिएको छ । हिलेमा आउने पर्यटक र आगन्तुकले तोङ्वा खान रुचाउने भएकाले तोङ्वको स्तम्भ निर्माण गरिएको हो । अधिकांश समय चिसो मौसम हुने भएकाले हिलेमा गएकाहरूले तोङ्वा खाने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
पूर्वको पर्यटकीय स्थल भेडेटारमा इमानसिंह चेम्जोङको स्तम्भ बनेको छ भने भेडेटारको पहिचान दिलाउन भेडाको स्तम्भ निर्माणाधीन अवस्थामा छ ।
धनकुटामा पर्यटकहरूलाई आकर्षित गर्नका लागि एभोकाडो पार्क, चुवाको बोट पार्क, शिवजी पार्क, घुमाउने चौतारो पार्क तथा भ्यु टावर निर्माण भइरहेको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताए ।

धनकुटाकै शहीदभूमि गाउँपालिकामा सुन्तलाको स्तम्भ निर्माण गरिएको छ । खोकु बजारमा सुन्तलाको स्तम्भ निर्माण गरिएको हो । खोकुको सुन्तलाले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय स्तरमा नाम कमाएको छ ।

मोरङको केराबारी गाउँपालिकामा मच्छिन्द्रनाथको स्तम्भ निर्माण गरिएको छ । त्यस्तै, बेलबारी नगरपालिकामा पनि धमाधम पार्क निर्माण भइरहेका छन । सृजना पार्क निर्माण भइरहेको छ भने यलम्बर पार्क समेत निर्माणको चरणमा रहेको छ ।

बेलबारी नगरपालिका वडा नम्बर १० भाउन्नेमा १ करोड ८० लाखको लागतमा सृजना पार्कको निर्माण कार्य धमाधम भइरहेको छ । सृजना सामुदायिक वन उपभोक्ता समितिको ३३ बिघा जग्गामा पार्क निर्माण गर्न थालिएको हो । त्यहाँ नेपालसहित अन्य देशका कलाकारहरूले पहिलो चरणमा ढुङ्गामा मूर्ति बनाएका छन् । सो पार्कको विकासका लागि डीपीआर बनाउने काम भइरहेको पार्क निर्माण समितिका सचिव शङ्कर गुरुङले बताए ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी पार्कसँगै होमस्टेको लागि अध्ययन भइरहेको बताउँछन् ।
केही समय अघिसम्म आफना दलका नेताका नाममा निर्माण गरिने पार्क तथा स्तम्भ पछिल्लो समय भने ठाउँको पहिचानका लागि निर्माण भइरहेका छन् ।