दुहबीः सुनसरीको गढी गाउँपालिकामा चैत ३० गते जुरशीतल पर्व विशेष कार्यक्रम हुने भएको छ ।

मङ्गलबार गढी गाउँपालिकाको कार्यालय भवनमा पत्रकार सम्मेलन गर्दै थारु महिला सभा जिल्ला कार्य समिति सुनसरीकी अध्यक्ष सुशीला लेखीले सांस्कृतिक तथा धार्मिक उद्देश्य लिएर जिल्लाव्यापी जुरशीतल पर्व विशेष कार्यक्रम गरिने जानकारी दिइन् ।

थारु समुदायले बैशाखमा मनाउँदै आएको सिरुवा पर्वको अवसर पारेर जुरशीतल पर्व विशेष कार्यक्रम गरिने आयोजकले जनाएको छ । थारु समुदायले सुख, शान्ति, प्रगति तथा दीर्घायुको कामना गर्दै ग्रामथान देवता घर, कुल देवतालाई जल अर्पण गरी पर्व मनाउने गर्छन् ।

पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सचिव चौधरीले थारुवान, थरुहट संयुक्त सङ्घर्ष समितिले गरेको आन्दोलनलाई राज्यले उपेक्षा गरेको बताइन् । गढी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादव, थारु महिला सभाका सल्लाहकार रामराज चौधरी लगायतले जुरशीतल पर्व विशेष कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।