विराटचोकः शिक्षकले दोहोरो सुविधा लिएर विवादमा तानिएको सुकुना बहुमुखी क्याम्पस शान्त बन्दै गए पनि १० जना विद्यार्थीसहित ११ जनाविरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीले जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गराएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका ९ जना र नेपाल विद्यार्थी सङ्घका १ जना तथा तरुण दलका १ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गराएको छ । नेपाल विद्यार्थी सङ्घले गरेको विरोध सभाको तस्बिर खिच्न पुगेका उज्यालो प्रदेशका पत्रकार निकेश बरालले नेवि सङ्घका क्षेत्रीय सभापति होमनाथ पोख्रेल तथा तरुण दलका नेता नवीन रिजालमाथि किटानी जाहेरी दिएका थिए ।

यस्तै आफ्ना नेता तथा कार्यकर्ता कुटिएको भन्दै नेवि सङ्घले अनेरास्ववियुका ९ जना विद्यार्थीविरुद्ध जाहेरी दिएको थियो । स्ववियु सभापति सन्तोष लिम्बू, सदस्य कमल कार्की, अनिल कार्की, नवीन गिरी, अनेरास्ववियु सुकुना क्याम्पस कमिटीका अध्यक्ष मिलन बस्नेतलगायतका नाममा किटानी जाहेरी परेको थियो ।

क्याम्पस प्रमुखसहित १३ जना प्राध्यापकले लिएको दोहोरो सुविधाको विरोधमा नेवि सङ्घले गर्दै आएको आन्दोलन चर्किँदै जाँदा कुटाकुटमा परिणत भएको थियो ।