सङ्खुवासभाः शक्ति पिक म्युजिक फेस्टिबल प्रालिले आयोजना गरेको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव रोक नलगाउन उच्च अदालत धनकुटाले अन्तरिम आदेश जारी गरेको छ ।

गत चैत २२ गतेदेखि २७ गतेसम्म मादी नगरपालिकाको वडा नं १ राँंकेमा गर्ने भनिएको महोत्सव जिल्ला प्रशासन कार्यालयले रोक लगाएपछि उच्च अदालत धनकुटामा रिट दर्ता भएको थियो । सो रिटको विषयमा बुधबार उच्च अदालत धनकुटामा भएको बहसमा कम्पनीले आफ्नो उद्देश्य अनुरूप कार्यक्रम गर्नलाई कानुनतः रोक लगाउन सक्ने नदेखिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले चैत २१ गते महोत्सव नगर्न सूचना जारी गरेको थियो । चौकी राके डाँडा (तीनजुरे, मिल्के र जलजले) क्षेत्रमा आयोजना गर्ने भनिएको अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा लागूपदार्थको प्रयोग, अश्लील गतिविधि र खुला यौन गतिविधि हुने भन्दै कार्यक्रम गर्न रोक लगाएको सूचनामार्फत् उल्लेख गरेको थियो ।

कम्पनीले अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सव नाम दिए तापनि जिल्ला प्रशासनले भने ट्रान्स पार्टी प्रकृतिको हुने भन्दै रोक लगाएको थियो । यता, महोत्सवको आयोजक शक्ति पिक म्युजिक फेस्टिबल प्रालिका अध्यक्ष सुवास केसीलाई २९ गतेभित्रमा अदालतमा उपस्थित गराउन आदेश दिइएको छ । हाल केसी जिल्ला प्रहरी कार्यालय सङ्खुवासभामा थुनामा रहेका छन् ।

ades