बेलबारीः मोरङको सुन्दरहरैंचा–४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमतर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई बुधबार राती ९ बजे ठक्कर दिएको थियो ।
कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उप–महानगरपालिका ८ बस्ने वर्ष २२ का प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ का हेम चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते हेमको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको छ । हेम चौधरीको राती साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको तथा कार र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।