झापाः वीरता जेसीजका पूर्व अध्यक्षहरूको अगुवाइमा सञ्चालन हुँदै आएको ‘उत्कृष्ट नागरिक सम्मान कार्यक्रम’ झापावासीको साझा र उत्कृष्ट कार्यक्रम भएको बिर्तामोडमा आयोजित छलफलका सहभागीले बताएका छन् ।
कार्यक्रममा सहभागी झापाका विभिन्न जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारीहरूले वीरता जेसीज र पूर्वअध्यक्षहरूको अगुवाईमा हरेक बर्ष हुँदै आएको उत्कृष्ट नागरिक सम्मान कार्यक्रम सबैको साझा भएको बताउँदै यसलाई अझ उत्कृष्ट बनाउनुपर्नेमा जोड दिए ।
उत्कृष्ट नागरिक सम्मान समारोह २०७५ का संयोजक तथा वीरता जेसीजका पूर्वअध्यक्ष राजेन्द्र चौलागाईको अध्यक्षतामा भएको छलफलमा वीरता जेसीजका पूर्वअध्यक्ष तथा दीर्घकालीन योजना सभापति राजकुमार पोखरेलले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
जिल्लामा असल र उत्कृष्ट काम गर्नेलाई प्रेरित गर्न तथा अरुलाई पनि त्यस्तै कार्यका लागि सकारात्मक प्रेरणा प्रदान गर्न वीरता जेसीजले फरक ढङ्गले उत्कृष्ट नागरिकको चयन गरी ०५२ सालबाट सम्मान गर्दै आएको बताइएको छ । यस बर्ष उत्कृष्ट नागरिक सम्मानका लागि ‘राष्ट्रसेवा’ विधा चयन गरिएको वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा समारोहका सचिव एकराज गिरीले जानकारी दिए । उक्त विधा अन्तर्गत रहेर जिल्लामा विशेष योगदान पु¥याउने व्यक्तित्वलाई उत्कृष्ट नागरिकलाई घोषणा गरी स्वर्ण पदक, सम्मान–पत्रद्वारा सम्मान गर्ने कार्यक्रम छ ।
सो सम्मानप्रति जिल्लाका सय बढी संस्थाले ऐक्यबद्धता जनाउनुका साथै ‘उत्कृष्ट नागरिक’ लाई विशेष सवारी साधनमा झाँकीसहित नगर परिक्रमा गराएर घरसम्म पु¥याउने परम्परा छ । छलफलमा सहभागीले कार्यक्रम आकर्षक र सबै झापावासीले सहभागी भएर हेर्न लायकको कार्यक्रम हुने समेत बताए । छलफलमा छनोट समितिका संयोजक कुमार भट्टराईले छनोट प्रक्रियाबारे जानकारी गराउदै उपयुक्त राष्ट्रसेवकको नाम सिफरिश गर्न पनि आग्रह गरे । समितिमा मोहन शिवाकोटी र मोहन काजी सदस्य छन् ।
यस वर्षको उत्कृष्ट नागरिक सम्मान समारोह आगामी बैशाख ५ गते बिर्तामोडको अतिथि सदनमा गर्ने तयारी गरिएको बताइएको छ ।