सङ्खुवासभाः सिलिचोङ गाउँपालिका–समन्वय समिति काठमाडौंले गाउँपालिकाको टोलटोलमा स्ट्रेचर वितरण गर्ने भएको छ ।

संस्थाले विगत तीन महिना अघिदेखि स्ट्रेचर खरिदको लागि भन्दै रकम सङ्कलन अभियान चलाएको थियो । हालसम्म उक्त अभियान मार्फत ८ लाख ४१ हजार रुपैयाँ रकम सङ्कलन भएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिए । उक्त रकमबाट १ सय २३ थान स्ट्रेचर खरिद गरिएको अध्यक्ष कुलुङले बताए ।

समितिले सिलिचोङ गाउँपालिकाबाट काठमाडौंमा अस्थायी तथा स्थायी रूपमा बसोबास गर्ने व्यक्ति र रोजगारीका सिलसिलामा विभिन्न मुलुक पुगेकाहरूबाट रकम सङ्कलन गरेको थियो ।

सिलिचोङ गाउँपालिका अत्यन्त दुर्गम क्षेत्रमा पर्छ । स्वास्थ्य संस्थाको पहुँच नभएका र सडक सञ्जालले समेत नजोडिएका गाउँ तथा वडामा बिरामी परेकालाई सहज होस् भनेर स्ट्रेचर वितरण गर्न लागिएको बताइएको छ । समितिले काठमाडौंमा स्वास्थ्योपचार गराउन आउने सिलिचोङवासी तथा आर्थिक अवस्था कमजोर भएका र ठूलो धनराशी खर्च हुने अवस्थाका बिरामीलाई उपचार खर्च पनि उपलब्ध गराउँदै आएको अध्यक्ष कुलुङले बताए ।

समितिले बैशाख १ गते सिलिचोङ गाउँपालिकाको बुधबारेमा स्ट्रेचर वितरण गर्नेे जानकारी गराएको छ । बिहीबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर सो जानकारी गराइएको हो ।