इटहरीः जीपी कोइराला फाउन्डेसन सुनसरीको यही चैत ३० गते पदस्थापन हुने भएको छ । फाउन्डेसनको प्रदेश १ समितिले सुनसरी जिल्ला समिति बिस्तार गरेकाले पदस्थापनको कार्यक्रम तय भएको हो ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जीपी फाउन्डेसनले सुनसरीमा पहिलो पटक कार्यक्रम गर्न लागेको हो । सोही दिन कोइरालासँग सम्बन्धित फोटो प्रदर्शनी र विचार गोष्ठी गरिने भएको छ ।
प्रदेश समितिले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको बारेमा जानकारी गरेको हो । प्रदेश संयोजक इन्दिरा थापाले कार्यक्रमबारे जानकारी गराएकी हुन् । यस अगाडि विराटनगरमा प्रदेश कार्यालय उद्घाटन गर्ने र स्वास्थ्य शिविर सञ्चालन गर्ने काम गरेको फाउन्डेसनले अझ बढी सामाजिक कार्यमा अगाडि बढ्ने प्रेरणा पाएको उनले बताइन् ।
यसपछि गिरिजाप्रसाद कोइरालाको शालिक निर्माण गर्नेदेखि अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल गर्नेसम्मको योजना रहेको उनले सुनाइन् । प्रदेश १ का १४ वटै जिल्लामा आफ्नो कार्यसमिति बिस्तार गरिसकेको फाउन्डेसनले अब लोकतान्त्रिक उपलब्धीलाई संस्थागत गर्ने बाटोमा अग्रसर भएको उनको भनाइ छ ।