झापाः नेपाल माझी युवा सङ्घ झापाको शिवसताक्षी नगरपालिका— ११ स्थित दुधेमा कार्यालय भवन उद्घाटन गरिएको छ । नेपाल माझी उत्थान सङ्घका अध्यक्ष कृष्ण माझीले शुक्रबार कार्यालयको उद्घाटन गरेका थिए ।
माझी जातिका युवाले आफ्नो भाषा संस्कृति र पहिरन बिर्सन थालेकाले ती पहिचान मर्न नदिन र सम्पर्कका लागि सहज होस् भनेर कार्यालय भवन बनाएर व्यवस्थित तरिकाले काम गर्न लागिएको उनले बताए । जातीय उत्थान तथा संस्कृतिको जगेर्नाका लागि सम्पूर्ण माझी युवाको आवश्यकता रहेको उनको भनाइ थियो ।
सुवर्ण माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल माझी उत्थान समिति झापाका सचिव मणिकुमार माझी, नेपाल माझी युवा सङ्घ जिल्ला समितिका सुरेश माझीलगायतले आफ्नो धारणा धारणा राखेका थिए ।