झापाः झापाको मेचीनगरमा शुक्रबार आयोजित एक कार्यक्रमका सहभागीले अब सडक कालोपत्रे, बाटाघाटा, कल्भर्ट र ड्रेन बनाएर मात्र पूर्ण रूपमा विकास निर्माण नहुने बताएका छन् ।
नेपाल कृषि प्रधान मुलुक भएका कारण जबसम्म कृषिका हरेक क्षेत्रमा सिँचाइको उचित र व्यवस्थित विकास हँुदैन तबसम्म त्यस क्षेत्रका धेरै विकास निर्माण कार्य अधुरा हुने सहभागीको भनाइ थियो ।
मेचीनगर नगरपालिकाको सहयोगमा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ नेपाल जिल्ला समिति झापाले आयोजना गरेको मेचीनगर स्तरीय भेलाका सहभागीले यस्तो धारणा राखेका हुन् । हरेक सिँचाइ प्रणालीको विकास गरेर प्रत्येक किसानका खेतका गरागरामा पानी पु¥याउनु राज्यको दायित्व भएको सहभागीको भनाइ थियो । जबसम्म कृषिमा नेपाल आत्मनिर्भर हुन सक्दैन तबसम्म देश पूर्ण रूपमा समृद्ध बन्न नसक्ने उनले दाबी गरे । यसकारण पनि ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउन पहिला नेपाललाई कृषिमा आत्मनिर्भर बनाउँदै परनिर्भरताको अन्त्य गर्नुपर्नेमा उनीहरूको जोड थियो ।
भेलाको उद्घाटन गर्दै मेचीनगर नगरपालिकाका खाद्य अधिकृत दीपेन्द्र कार्कीले नगरभरका यस्ता सिँचाइ प्रणालीको तथ्याङ्क आएपछि स्थानीय सरकारले कसरी सहयोग गर्न सकिन्छ त्यसको अध्ययन गर्ने बताए ।
कार्कीले नगरभित्रका कतिपय सिँचाइ, कुलो पैनी निर्माणमा स्थानीय सरकार लागेको भए पनि संस्थागत रूपमा जान नसकेको भन्दै अहिले पनि नगरभित्रका साना, ठूला पैनी, कुलोसहित अन्य सिँचाइका प्रणालीको नगरपालिकासँग अभिलेख नरहेको बताए ।
नगरभित्रका टिमाई, हडिया, निन्दा, सुके निन्दालगायतमा कति उपभोक्ता छन् उनीहरुको अवस्था कस्तो छ ? कतिले केन्द्र, जिल्ला तथा स्थानीय स्तरबाट सहयोग पाइरहेका छन् त्यसको अभिलेख नगरपालिकासँग नभएकै कारण समस्या भएको कार्कीको भनाइ थियो ।
राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ नेपाल जिल्ला समिति झापाका कार्यवाहक अध्यक्ष मानबहादुर कार्कीको सभापतित्वमा भएको भेलामा महासङ्घका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद खतिवडा, जिल्ला सदस्य पदम गौतम, चित्रकला दाहाललगायतले बोलेका थिए ।
भेलाले इन्द्र सिटौलाको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि १९ सदस्यीय राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासङ्घ नेपाल मेचीनगर समिति झापाको नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा देवेन्द्र ढुङ्गाना, सचिवमा हरिभक्त धिताल र कोषाध्यक्षमा बन्दना श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
सदस्यमा हरिनारायण न्यौपाने, प्रेमबहादुर थापा, हरिमाया गड्तौला, उदय चौधरी, मोहनलाल सुब्बा, लक्ष्मीकान्त खवास, बुद्ध अधिकारी, वीरु लिङ्देन, कुलप्रसाद कट्टेल, लोकेन्द्र सुब्बा, लीलादेवी प्रधान, उमा घिमिरे, निर्मला सुवेदी, उर्मिला पोखरेल र रामकुमार प्रसाईँ छन् । समितिका पदाधिकारीलाई प्रमुख अतिथि कार्कीको उपस्थितिमा महासङ्घका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद खतिवडाले पद तथा गोपनीयताको शपथ गराएका थिए ।