इटहरीः वनस्पति विभागले नेपाली ब्राण्डका अत्तर (पर्फ्युम) उत्पादन शुरू गरेको छ । विभागका वैज्ञानिकहरूले कोशी र जुम्ला नामका अत्तर बनाएका हुन् ।

विभागका प्रवक्ता सिन्धुप्रसाद ढुङ्गानाले दिएको जानकारीअनुसार वरिष्ठ वैज्ञानिक अधिकृत देवीप्रसाद भण्डारी, रजेश्वर रञ्जितकार र लक्ष्मण भण्डारीले यी नयाँ नेपाली ब्राण्डको विकास गरेका हुन् ।

उनीहरूले आज एक कार्यक्रमका बीच जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीलाई उक्त अत्तर हस्तान्तरण गरेका छन् ।

वैज्ञानिकका अनुसार कोशी नामको अत्तरको बास्ना भन्दा जुम्ला नामको अत्तरको बास्ना बढी टिकाउ छ । यी अत्तर अर्गानिक भएको हुँदा यसले मानव स्वास्थ्यलाई कुनै नोक्सानी नपुर्याउने बताइएको छ ।

विभागका अनुसार यी अत्तर बनाउने सूत्र पनि कम्पनीलाई प्रदान गरिएको छ । प्रवक्ता ढुङ्गानाले भने, ‘अब कम्पनीले नै यसको व्यावसायिक उत्पादन शुरू गरेर बजार पुर्याउँछ ।’

 

साङ्केतिक तस्बिर गुगलबाट लिएका हौँ ।