इटहरीः इटहरीस्थित जनता माध्यमिक विद्यालयको भर्ना प्रक्रियाको विरोधमा नेपाल विद्यार्थी सङ्घ सुनसरीले आन्दोलन गर्ने चेतावनी दिएको छ । भोलदेखि शुरु हुने नयाँ शैक्षिक सत्रबाट शुरु गर्न लागेको अङ्ग्र्रेजी माध्यमको पढाइमा गलत प्रक्रिया अवलम्बन गरिएको भन्दै नेवि सङ्घले विरोध गरेको हो ।
भर्ना प्रक्रियामा प्रवेश परीक्षा लिएर निजी विद्यालय पढ्दै गरेका विद्यार्थीसँग प्रतिस्पर्धा गराएर सोही विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पाखा लगाउने काम भएको नेवि सङ्घ को आरोप छ ।
एक विज्ञप्ति नै जारी गरेर नेवि सङ्घले सरकारी कर्मचारी र धनीका छोराछोरी मात्र पढ्न पाउनेगरी गरीबका छोराछोरीलाई पाखा लगाउने काम गरेको बताएको छ ।
गरीब जनताका छोराछोरी अध्ययन गर्ने स्कुलमा अङ्ग्रेजीको नाममा धनीका छोराछोरी मात्र पढ्न सक्ने वातावरण सिर्जना गर्न लागिएको नेवि सङ्घ सुनसरी अध्यक्ष मन्दीप भट्टराईले बताए । यसरी सरकारी स्कुलले मनपरी भाडा लिने र सुविधा दिने नाममा गरीबको पहुँचबाट टाढा विद्यालयलाई लैजान खोज्ने कदमको सर्वत्र विरोध गर्ने उनको भनाइ छ ।