बेलबारीः बेलबारी नगरपालिकाले खादा प्रयोगको विकल्प खोज्ने जनाएको छ । नगरकै पहिलो जातिको रूपमा घोषणा गरिएको धिमाल जातिले लगाउने गलबन्दीलाई नै खादाको रूपमा प्रयोग गर्ने बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।
उनले बाह्य वस्तुभन्दा आफ्नै मौलिक संस्कार र संस्कृतिसँग जोडिएका वस्तु प्रयोग गर्नेसमेत बताए । ‘हामीले विभिन्न कार्यक्रममा लगाउने खँदा विदेशबाट आएका हुन्छन्’, मेयर सुवेदीले भने, ‘त्यही पनि वातावरणलाई दूषित बनाउँछन् ।’ उनले धिमाल जातिले साथ दिए नगरपालिकामा चाँडै खादाको प्रयोगमा रोक लगाउन सकिने समेत बताए ।
सामाजिक तथा धार्मिक कार्यक्रममा समेत खादा प्रयोग हुन थालेको छ । प्राकृतिक रूपमा बनेर आएका खादाले वातावरणमा समेत असर पु¥याउने गरेको विज्ञहरूको भनाइ रहेको छ ।
आफ्नै भाषा, संस्कार र सस्कृतिसँग जोडिएका वस्तु आम्दानीको स्रोत समेत भएको उनले बताए । धिमाल जातिले बुन्ने गरेको धिमाल जातिको बोना, अल्गी, धावा, धरी, ताना जस्ता कपडाको समेत संरक्षण गर्ने उनले बताएका छन् । उनीहरूले लगाउने पोशाक र बुन्ने औजारसमेत नगरपालिकाले खरीद गरिदिने उनले बताए ।
धिमाल जातिले विषमाला गछ, काथीमाला, हासुलीपात, हरी, कलि, कुण्डल, नादोइ, नाकमुुन्दी, कानाइला, चन्द्रहार, पाउजूजस्ता गहरगहना लगाउने गरेका छन् । धिमाल जातिलाई नगरपालिकाले यसअघि नै पहिलो जातिको रूपमा घोषणा गरिसकेको छ ।
धिमाल जाति विकास केन्द्र बेलबारीले समेत पहिलो जातिका रूपमा धिमाल जातिलाई घोषणा गरेको भन्दै नगरपालिकालाई सम्मान गरेको छ । मेयर सुवेदीलाई सम्मान पत्र दिएर सम्मान गरेको हो ।
पर्यटन आयस्रोतका रूपमा धिमाल जाति
नगरपालिकाले धिमाल जातिको पहिचान सहितको होमस्टे सञ्चालन गर्नका लागि अध्ययन गर्न समेत थालेको छ । बेलबारीका पर्यटकीय क्षेत्रसँगै होमस्टेको अभाव भएको छ मेयर सुवेदीले भने, ‘उनीहरूको रहनसहन भेषभुषा र खानपिनबाट पर्यटकलाई तान्न होमस्टेका लागि अध्ययन थालिएको छ ।’
उच्च शिक्षाको अनुदानमा आदिवासी
बेलबारी नगरपालिकाले सञ्चालन गरेको उपहार ऋण कार्यक्रम आदिवासीलाई लक्षित गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रवक्ता योगेन्द्र सुवेदीका अनुसार धिमाल जातिसहित अन्य २१ जाति आदिवासी नगरपालिकामा रहेका छन् । ४० जना भन्दा बढी युवा उक्त कोषबाट मदन भण्डारी मेमोरियल प्रतिष्ठान उर्लाबारीमा अध्ययन गरिरहेका छन् ।