धनकुटाः रामनवमी पर्वको अवसर पारेर धनकुटाको हिलेमा विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । प्रत्येक वर्षझैँ यो वर्ष पनि खाना महोत्सव र रथयात्राको आयोजना गरिएको छ ।
हिले पर्यटन प्रवद्र्धन पूर्वाधार विकास संस्था र क्षेत्रीय होटल एशोसिएशन नेपालको संयुक्त आयोजनामा खाना महोत्सव शुरु भएको हो । महोत्सवमा जातीय तथा स्थानीय खानाका परिकार, स्थानीय अर्गानिक तरकारी तथा फलफूलको परिकार राखिएको हिले पर्यटन प्रवद्र्धन पूर्वाधार विकास संस्थाका अध्यक्ष खगेन्द्र बिष्टले बताए । महोत्सव ४ दिनसम्म सञ्चालन हुने छ ।
रामनवमीकै अवसरमा हिलेमा रथयात्रा समेत गराइएको छ । प्रत्येक वर्षझै रामनवमीको अवसरमा रथयात्रा गराइएको हो । स्थानीय षडेश्वर महादेवको मन्दिरबाट हनुमानसहितको रामसीताको रथ यात्राले हिले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । धनकुटाको हिलेमा रामनवमीको अवसरमा धेरै पहिलेदेखि हुने चहलपहललाई थप आकर्षक बनाउन ४ वर्ष अघिदेखि रथयात्रा शुरु गरिएको हो ।