सङ्खुवासभाः तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सिमानामा अवस्थित गुराँसको राजधानी तीनजुरे मिल्के जलजले क्षेत्रको व्यवस्थापनमा नयाँ विकल्प खोज्न सरोकारवालाले जोड दिएका छन् । यस क्षेत्रको नयाँ व्यवस्थापन गरेर सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङले अधिकतम लाभ लिनुपर्नेमा जोड दिइएको हो ।
शनिबार तेह्रथुमको वसन्तपुरमा आयोजित तीनजुरे मिल्के जलजले क्षेत्र व्यवस्थापनसम्बन्धी बृहत अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् । उनीहरूले टिएमजे क्षेत्रलाई व्यवस्थापन गरेर अघि बढ्न सके तीन जिल्ला मात्रै नभएर प्रदेश १ र सिङ्गो राष्ट्रले लाभ लिन सक्नेमा दुई मत नरहेको बताए ।
कार्यक्रममा प्रुमख अतिथिसमेत रहेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले टिएमजे क्षेत्रको बिस्तार र व्यवस्थापनको विषमा थप छलफल आवश्यक रहेको बताए । उनले भने, ‘टिएमजेको बिस्तार र व्यवस्थापनसम्बन्धी यो पहिलो छलफल हो, आउने दिनमा थप छलफल गरेर निष्कर्षमा पुग्छौँ ।’
उनले यस क्षेत्रको बिस्तारको लागि स्थानीयको भावनाअनुसार काम गर्नुपर्ने बताए । मन्त्री बस्नेतले वन क्षेत्रलाई दाउरा र काठको प्रयोगमा मात्रै सीमित नराखेर वनबाट उद्यमशीलताको विकास गर्नेतर्फ सोच्नुपर्नेमा स्थानीय र प्रदेश सरकारको ध्यानाकर्षण गराए ।
नेपालको महत्वपूर्ण पर्यटकीय क्षेत्रका रूपमा यस क्षेत्रलाई विकास गर्न तीन तहको सरकारका साथै सम्बन्धित सरोकारवाला सबै एकजुट हुनुपर्नेमा मन्त्री बस्नेतले जोड दिए ।
टिएमजे क्षेत्रको व्यवस्थापन तथा प्रवद्र्धनका लागि सङ्घीयताको ढाँचाअनुसार नयाँ कानुन निर्माण गरी अगाडि बढ्नुपर्ने प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले बताए ।
स्थानीय सरकारले आफ्नो अधिकार प्रयोग गर्दै टिएमजेको बारेमा विद्यालय तहको पाठ्यपुस्तकमा नै समावेश गर्नुपर्नेमा उनको जोड थियो । उनले भने, ‘१९ प्रभावित क्षेत्रको बारेमा विद्यालय तहका पाठ्यपुस्तकमा नै समेट्न सके टिएमजेको पहिचान कहिल्यै मर्ने छैन ।’
प्रतिनिधिसभा सदस्य भवानी खापुङले तीनजुरे मिल्के जलजले क्षेत्रको अधिकतम उपयोगको विषयमा छलफल हुनुपर्ने बताए । प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमले टिएमजेको व्यवस्थापनको विषयमा नयाँ विकल्प खोज्नु पर्ने बताए । उनले भने, ‘यस क्षेत्रलाई हिमालदेखि समुद्र सतहसम्म, नदी बेसिनको आधारमा र स्थानीय समुदायको आधारमा कुन मोडलमा विस्तार गर्नुपर्ने हो छलफल आवश्यक छ ।’
टिएमजे क्षेत्रको व्यवस्थापन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न सके आर्थिक समृद्धि हुनुका साथै यस क्षेत्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सकिने सम्भावना रहेको समेत सरोकारवालाले बताए ।
प्राकृतिक स्रोतको संरक्षण गर्दा स्थानीयको जनजीवनमा नकरात्मक असर पु¥याउन नहुने सरोकारवालाको धारणा रहेको छ । कार्यक्रममा सम्बन्धित तीन वटै जिल्लाका प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिलगायत सम्बन्धित सरोकारवालाहरूको सहभागिता रहेको थियो ।