इटहरीः नेपाली काङ्ग्रेसका ३ जना केन्द्रीयले एउटै मञ्चबाट काङ्गे्रस पार्टी र सरकारको नेतृत्वमा व्यक्तिवादी चरित्र हाबी भएको बताएका छन् । जीपी फाउन्डेसन प्रदेश १ ले इटहरीमा आयोजना गरेको कार्यक्रममा केन्द्रीय सदस्यहरू डाक्टर शेखर कोइराला, डाक्टर रामशरण महत र सुजाता कोइरालाले पार्टी र सरकार दुवैको नेतृत्वमा नैतिकता हराएर गएको आरोप लगाएका हुन् ।

शुरुमा बोलेका डाक्टर महतले यो सरकारले देशको अर्थतन्त्र धराशायी बनाएको बताए । नेपाली काङ्ग्रेसले केही सबल बनाएको अर्थतन्त्र कम्युनिष्ट सरकारले चकनाचुर बनाएको उनको आरोप थियो । सरकारको यो शैलीले देशको अर्थतन्त्र डमाडोल हुने उनको भनाइ थियो । पार्टीको आन्तरिक गुटबन्दीप्रति इङ्गित गर्दै उनले हालको नेतृत्व आफैँ गुटबन्दीमा लागेर सिस्टमलाई लत्याउन खोजेको उनले बताए ।

त्यसपछि बोलेकी सुजाता कोइरालाले यो सरकारले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताइन् । सरकार भ्रष्टाचारीको पक्षपोषण गर्छ भने प्रतिपक्षी नेतृत्व गुटबन्दीमा रुमल्लिरहेको उनको भनाइ थियो । यसबाट प्रतिपक्षीको नेतृत्व र सरकारको नेतृत्व सिस्टम बाहिर रहेको कोइरालाले बताइन् । जीपी फाउण्डेसनकी केन्द्रीय अध्यक्षसमेत रहेकी उनले गिरिजाप्रसाद कोइरालाको मूल्यमान्यता र आदर्शको राजनीतिलाई फाउण्डेसनले गाउँगाउँसम्म पु¥याउने योजना सुनाइन् ।

कार्यक्रमको समापनमा बोलेका डा. शेखर कोइरालाले शुरुमै गणतन्त्र राष्ट्रपतिको फाइदाको लागि मात्र उपयोगी भएको बताए ।  राष्ट्रपति सुविधाभोगी बन्दै गएको र जनता अझ बढी समस्यामा झेलिँदै गएकाले गणतन्त्र राष्ट्रपतिको फाइदाको लागि मात्र भएको बताए ।

त्यस्तै ३३ किलो सुन काण्डका ठूला माछा कता हराए भन्दै उनले प्रश्न गरे । गृहमन्त्रीले रोस्टममै उभिएर साना माछा पक्राउ परेको र अब ठूला माछा पक्राउ पर्ने बताएको स्मरण गर्दै उनले सरकार आफैँ भ्रष्टाचारमा डुबेको बताए ।
‘अहिले गणतन्त्र आफै अप्ठ्यारो अवस्थामा छ । प्रेस स्वतन्त्रता छैन । मानवअधिकार, न्यायपालिकामाथि प्रहार भइरहेको छ’, उनले भने, पशुपति शर्माले गाएको गीतले सरकार हल्लिने अवस्था आयो । देशमा सुशासन हराइरहेको छ । सम्पूर्ण अधिकार प्रधानमन्त्रीको हातमा राखेर गणतन्त्र र सङ्घीयतामाथि प्रहार हुँदैछ ।’

पार्टीको आन्तरिक विषयमा लामो समय खर्चेका उनले महासमितिमा संसद पुनःस्थापनको कुरा उल्लेख नहुनु धोका भएको बताए । अहिको पार्टी नेतृत्वले संसद पुनःस्थापनलाई स्वीकार नगर्नु गम्भीर विषय भएको उनको भनाइ छ । त्यसले काङ्ग्रेसको भूमिका रगिरिजाप्रसाद कोइरालाप्रतिको अपमान भएको उनले बताए । उनले प्रश्न गरे, ‘महासमिति ठूलो कि केन्द्रीय समिति ?’

देश सङ्कटमा भएकै बेला काङ्ग्रेस आफैँ आन्तरिक समस्यामा फसेको उनले बताए । आफू राजनीतिक संस्कारमा हुर्किएको मान्छे भएको भन्दै उनले राजनीति हुने व्यक्तिमा संस्कार हुनुपर्ने धारणा राखे । काङ्ग्रेसभित्र नैतिकता हराएको भन्दै उनले नैतिकताबिनाको राजनीति, राजनीति हुन नसक्ने बताए । तर अहिलेको नेतृत्व नैतिकताको कसीमा कमजोर देखिएको उनले बताए ।
सो कार्यक्रममा फाउण्डेसनको सुनसरी जिल्ला समितिको पदास्थापनसहित गिरिजाप्रसाद कोइरालासम्बन्धी महत्वपूर्ण तस्बिरको प्रदर्शनी समेत भएको थियो ।

सोही कार्यक्रममा प्रदेश १ का नेपाली काङ्ग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेपाली काङ्ग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेललगायतका नेताहरूले बोलेका थिए । उनीहरूले नेपालको राजनीतीक परिवर्तनमा कोइराला परिवारको योगदानको शब्दमा व्याख्या गर्न नसकिने बताए ।

त्यस्तै, फाउण्डेसनकी प्रदेश संयोजक इन्दिरा थापाले फाउण्डेसनले गरीब तथा निमुखा जनताको शिक्षा लगायतका क्षेत्रमा काम गर्ने बताइन् । त्यसको साथै विभिन्न सामाजिक गतिविधिको माध्यमबाट गिरिजाप्रसाद कोइरालको आदर्शलाई जीवन्त राखिने उनको भनाइ थियो ।