विराटनगरः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नयाँ वर्ष २०७६ विकास र समृद्धिको जग बसाउने स्मरणीय वर्षको रूपमा रहने बताएका छन् ।
नयाँ वर्ष २०७६ सालको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले विकास र समृद्धिका लागि सबैले आआफ्नो क्षेत्रबाट योगदान पुर्याउन अपील समेत गरे ।
‘प्रदेशमा भएका स्रोत, साधन र प्रचुर प्राकृतिक सम्पदालाई समुचित प्रयोग गर्दै प्रदेशलाई समृद्ध एंव समुन्नत बनाउने दायित्व हाम्रो काँधमा आएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘विकास निर्माण र समृद्धि प्राप्तिको महाअभियानलाई तीव्रता दिन म हार्दिक अपिल गर्दछु ।’
नयाँ वर्षको अवसरमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
‘नयाँ वर्षको आगमनसँगै मुलुक शान्ति, स्थिरता, सुशासनका साथै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्ने नयाँ सोच, शैली र स्पष्ट गन्तव्यसहित अगाडि बढिरहेको हुँदा हामी सबैका लागि यो वर्ष सुखद र उपलब्धिमूलक बन्न सकोस् भन्ने कामना गर्दछु,’ शुभकामना सन्देशमा भनिएको छ ।
देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक सङ्क्रमण समाप्त भएको भन्दै उनले आर्थिक, सामाजिक रूपान्तरणसहित समृद्धितर्फको यात्रालाई तीव्र गतिमा अगाडि बढाउने र राष्ट्रलाई आत्मनिर्भर बनाउने हामी सबैको साझा जिम्मेवारी र दायित्व रहेको उनले उल्लेख गरेका छन् ।
२०७५ साल संविधान र सङ्घीयता कार्यान्वयनको महत्वपूर्ण एवम् प्रदेश सरकारको लागि महत्वपूर्ण आधार निर्माण गर्ने वर्षको रूपमा रहेको मुख्यमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ ।
नयाँ आशा, उमङ्ग र उत्साहसहित नयाँ वर्ष २०७६ ले खुशीको सञ्चारसहित सुदृढ राष्ट्रिय एकता, विकास र समृद्धिको सन्देश दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु भनी मुख्यमन्त्री राईले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।