धरानः धरानको खानेपानी समस्या नेपाल खानेपानी संस्थान र उपमहानगरपालिका बीचको द्वन्द्वका कारण बढेको भन्दै सरोकारवालाले तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् ।

खानेपानी जस्तो संवेदनशील कुरामा ‘राजनीति’ नगर्न सरोकारवालाले संस्थान र उपमहानगरलाई आग्रह गरेका हुन् । धरानका पूर्व मेयर मनोजकुमार मेन्याङ्बोले जनप्रतिनिधिको फितलो पहलले धराने जनता खानेपानीबाट वञ्चित हुनुपरेको बताए । उनले स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गरेर नगरवासीलाई पानी खुवाउन उपमहानगरपालिकालाई आग्रह गरे ।

शनिबार ‘पिउने पानीका लागि’ नागरिक पहल तदर्थ समिति धरानको आयोजनामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मेयर मेन्याङ्बोले जनताले पाउने आधारभूत कुरामा ठोस निर्णय गर्न जनप्रतिनिधि डराउन नहुने बताए । धरानमा एकीकृत शहरी विकास आयोजना र नेपाल खानेपानी संस्थानबीचको द्वन्द्वका कारण नगरवासीले खानेपानी नपाएको उनको ठम्याइ छ । उनले अहिलेका कार्यवाहक मेयरले कुनै पनि हालतमा जनताले पानी खाने वातावरण बनाउनुपर्ने बताए ।

‘धरानका जनता पानी पानी भन्दै कराइरहेका छन् उहाँहरू के गरेर बस्नुभएको छ,’ पूर्व मेयर मेन्याङ्बोले प्रश्न गरे । पिउने पानीका लागि नागरिक दवाब पहल समितिका संयोजक महेश श्रेष्ठले पनि भएको पानी जनताले पिउन नपाउनु नैसर्गिक अधिकारमाथिको हस्तक्षेप भएको बतााए । उनले सर्वोच्च अदालतको अन्तरिम आदेशले संस्थानलाई समायोजन र इक्टरकनेक्सनमा बन्देज लगाएको भए पनि पानीको माग र आपूर्तिमा कुनै समस्या नभएकाले धराने जनताले जसरी पनि पिउने पानी पाउनुपर्ने बताए ।

‘हिजोसम्म हामीले खानेपानी भनेर धमिलो पानी दिए पनि खायौं, महसुल पनि तिरिरह्यौं तर अब खानेपानी दिँदा मात्र धरानेको चित्त बुझ्दैन । खानेपानी होइन, पिउने पानी देऊ भनेर सङ्घर्ष गरेका हौँ’, संयोजक श्रेष्ठले भने । पिउने पानीका लागि पहल समितिका सल्लाहकार दीपक मेन्याङ्बोले एकीकृत शहरी विकास आयोजना र खानेपानी संस्थानले कुनै पनि हालतमा पानी खुवाउनुपर्ने बताए । उनले खानेपानीमा अनावश्यक राजनीति नगर्न पनि आग्रह गरे ।