पथरीः गत चैत २७ गते बुधबार पथरीमा कामना सेवा विकास बैंकले शाखा उद्घाटन गर्याे । सो दिन दमकको पाथीभरा वेभरेजले बैंकको सो दिनको प्रयोजनका लागि कामना सेवा बैंकको लेभल राखेर मिनरल वाटर कार्यक्रममा ल्यायो ।

तर, सो पानीको लेभलमा गलत प्रिन्ट भेटिएको थियो । पानीको लेभलमा प्रिन्ट गलत भएपछि बंैकले फर्काएको सो पानी फुड प्रोडक्सनले बजारमा लगेर बिक्री गरेको छ ।

प्रति कार्टुन १ सय ३७ रुपैयाँका दरले पथरीका होटलमा सो पानी बिक्री भएको छ । मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने पिउने पानीमा फुड प्रोडक्सनले यसरी हेलचेक्र्याइँ गरी मनोमानी तरिकाले बजारमा आफ्नो उत्पादन बिक्री गरेको छ ।

बैंकको लोगो अङ्कित पानीको बोतलमा तौल पनि उल्लेख गरिएको छैन । आफ्नो संस्थाको टे«डमार्क कुनै पनि संस्थाले अनधिकृत रूपमा प्रयोग गरी संस्थाको प्रतिष्ठामा आँच आउने काम गरेको पाइए टे«डमार्क दुरुपयोग अन्तर्गको कानुनी कार्वाही गर्न बैंक तयार रहेको व्यवस्थापक वीरेन्द्र भण्डारी बताउँछन् ।

यता, फुड प्रोडक्सनका मालिक शशिराज बिष्टले भने गत ४ दिन अगाडिदेखि बजारमा पठाएको पानी कर्मचारी खटाएर आइतबारदेखि बजारबाट उठाउँदै आफ्नो गल्ती ढाकछोप गर्न थालेका छन् ।

इष्ट स्प्रिङ पानी उत्पादन तथा बिक्री गर्दै आएको सो कम्पनीले बजारमा उत्पादन मिति, उपभोग्य मिति र रजिष्टे«सन नम्बरसमेत उल्लेख नगरिएको पानी वितरण गर्दै आएको भेटिएको ग्राहकको भनाइ छ ।