व्रत भनेको एउटा निश्चित नियम, विधि र खानपानसम्बन्धी आचरण र नियम हो । यही नियममा बस्नु व्रत बस्नु हो । हप्ताको एक दिन फलफूल वा कन्दमूल खाने जस्ता व्रत लिनाले मानव स्वास्थ्यमा लाभ पुग्दछ भनिन्छ ।
स्वस्थानी व्रत कथा र तीजजस्ता केही व्रतहरूमा विशेष गरेर आम व्रतालु महिलालाई मर्नु न बाँच्नुको अवस्थामा पु¥याएको देखिन्छ । तीजको व्रतमा पानी खाँदा समेत पतिको रगत खाएसरह हुन्छ भन्नेजस्ता कुराले शरीरमा पानीको अभाव हुँदा महिलाहरू मर्नेसम्मको अवस्था थियो र अझै पनि कतैकतै यस्तै अवस्था देखिन्छ । यस्ता खालका व्रतले कसरी घरपरिवार र पतिको दीर्घायु होला ?
स्वस्थानी व्रत कथामा छोरीलाई असाध्यै हेलाहोचो र अपमान गरिरहेको देखिन्छ । यस कथाको समापनमा ८ रोटीलगायत अन्य ८–८ प्रसाद र फलफूल पतिलाई दिनू, पति नभए छोरालाई दिनू, छोरा नभए मीत छोरालाई दिनू र मीत छोरा पनि नभए नदीमा बगाइदिनू भनेर कथामा छोरीलाई सन्तान नै मानिएको छैन । छोरीमात्र हुने आमाले यो व्रत लिँदा प्रसादका ८–८ रोटी र प्रसाद के गर्र्नु ।
हाम्रा धार्मिक पुराण र व्रत कथाहरूमा प्राय छोरीलाई भोग्या, भाग्यवादी, नोकर्नी र सुसारेका रूपमा मात्र हेरिएको देखिन्छ । नेपालको संविधानले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्ने किटानी व्यवस्था गरेको छ ।
त्यसो हुँदा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रकालमा पनि उही सामन्तकालीन अन्ध परम्परा र रुढीवादीका पछि लाग्न सचेत महिलालाई सुहाउँछ ? अहिले त आफूलाई समाज परिवर्तन गर्ने भन्नेहरू नै पनि यस मामलामा चुपचाप देखिन्छन् ।
इटहरी–२ निवासी कम्युनिष्ट पार्टीका पुराना नेता तथा जननेता मदन भण्डारीसितै वाम राजनीतिमा सक्रिय ओम कोइराला र उनका परिवारका सदस्यहरू केदार, माधव, भीष्म कोइरालाहरूले स्व.पिता माता देवनारायण र कृष्णमाया कोइरालाका स्मृतिमा आयोजना गरेको परम्परागत वार्षिक पुराणमा सरिक हुने अवसर मिल्यो । उक्त कार्यक्रम समाजलाई आमूल परिवर्तन गर्ने अभियानमा उहिल्यैदेखि घरपरिवार सहित लागेका परिवारमा संविधानविपरीत पुराणका नाममा आफूलाई नै शोषण गर्ने चरम अन्धविश्वासी अर्ती उपदेश भट्याउनु अचम्म र उदेकको लाग्यो ।
कोइराला परिवारकी माहिली बुहारी रुक्मिणी कोइराला मेरी सहयात्री साथी पनि हुन् । सबै परिवर्तनकारी राजनीतिक चेतका नयाँ युगका युवा शक्तिसहितको यो परिवारमा अत्यन्त पछौटे पुराण वाचन पूरै अमिल्दो लाग्यो । यस्ता विषयमा हाम्रा घरमा सबिस्तार छलफल हुने गरेझैँ यस विषयमा पनि छलफल भयो ।
यसरी अहिले पनि संविधान अनुसार कत्ति पनि सुधार र संशोधन बिना परम्परागत पुराण लगाउँदा संविधानकै भावनाअनुसार आफ्नै पनि शोषण हो । आचार्य पण्डित कुमार निरौला र कमल खतिवडाले वाचन गरेको पुराण वाचनका क्रममा उखुमा रस भगवानले हालिदिएका भन्नेजस्ता अयथार्थ मात्र होइन भाग्यवादी, पुर्पुरोवादी, मानव जुनी र जिन्दगीलाई नै धिक्कार्ने जस्ता कथाहरू माइकबाट प्रशारण गरिएको थियो ।
डा. बद्रीविशाल पोखरेलले कोइराला परिवारका घरमा परम्परागत पुराण हुबहु वा रिट्ठो नबिराई वाचन गरेको कुरालाई त्यति जाति ठह¥याउनु भएन । तर पनि उहाँहरूको निजी मामिला भएकाले धेरै बोल्न पनि मिलेन । उहाँले कोइरालाको घर जननेता मदन भण्डारीको महत्वपूर्ण आश्रयस्थल भएको बताउनुभयो । सुनसरीको कम्युनिष्ट आन्दोलनको अनुसन्धान गर्ने क्रममा पोखरेलले थाहा पाएका धेरै कुरा जोडेर पुराण प्रसङ्ग जोड्नुभयो ।
भूमिगत राजनीतिको त्यसबेला रातबिरात भण्डारी ओम कोइरालाको साथीका नाताले आउनु हुन्थ्यो । त्यहाँ भण्डारीको सानो पुस्तकालय नै थियो । भण्डारी आएको बेला स्वस्थानी व्र्रत कथाको समय परेको हुँदा र भण्डारीकी आमा, दिदी, बहिनीहरूसित मिलनसार व्यवहारका कारण ओम कोइरालाका आमालगायत महिलाहरूले मदनबाट सुरिलो र मीठो स्वरमा स्वस्थानी व्रत कथा वाचन गरिदिन गरेको आग्रह भण्डारीले स्वीकार गर्नुभयो । भण्डारीले स्वस्थानी व्रतकथा पढ्दा महिलालाई चरम होला, होचो, उपेक्षा र अपमानका विषय र प्रसङ्गमा अडिएर त्यसबारे आमा, दिदीबहिनीहरूले पचाउन सक्ने खालको विवेचना, आलोचना गर्नुहुन्थ्यो ।
त्यही आधारमा अखिल नेपाल महिला सङ्घ इटहरीको संस्थागत बिउ रोपिएको मानिन्छ । यसरी महिलाहरूलाई परम्परागत रुढीबाट क्रमशः मुक्त गराएर आमूल परिवर्तन गर्ने जननेता मदन भण्डारीको सोच थियो । यसरी मात्रात्मक हुँदै परम्परागत चरम अन्धविश्वासी संस्कार, रीति, प्रथा र परम्परालाई सुधार परिमार्जन गरी समतामूलक, न्यायपूर्ण संस्कार र संस्कृति निर्माण गर्ने पछिसम्मको सोच मदनको थियो तर यस गुदीपूर्ण कुरालाई पटक्कै ध्यान नदिँदा नेपालका कम्युनिष्टहरू पुरातन पन्थमा नै रमाइरहने अवस्था अहिले देखिन्छ । मदनका अनुसार सामान्य सुधारमा समेत कम्युनिष्टहरूले ध्यान नदिँदा कम्युनिष्टहरूका मन मस्तिष्कमा संस्कार र संस्कृतिका क्षेत्रमा सामन्तवाद झन्झन् सबल हुन थालेको देखिन्छ । जननेता मदन भण्डारीले आश्रय लिएका घरघरमा यस खालका पुराण, प्रथा र व्रतकथा हुबहु रटान गरिरहेको देख्दा रुने थिए होलान् भन्ने लाग्छ भनेर डा. पोखरेलले भन्नुभयो ।
हुन पनि नेपालको संविधानअनुसार संस्कार र संस्कृति विषयका तमाम असमानता र अन्यायपूर्ण खालका पुराण, व्रत कथाका नाममा व्यथा व्याप्त देखिन्छन् । तर पनि तिनै व्यथाहरू आफूलाई अग्रगामी भनाउने अगुवाहरू नै त्यसमा निर्लिप्त रूपमा लाग्नु समग्रमा पश्चगमनको रसातलतिर जानु हो ।
कोइराला परिवारले आयोजना गरेको पुराणमा पण्डितले पुराण वाचन गर्दा भगवानले उखुमा रस हालिदिनुभयो, यो संसार र प्राणी जगत् भगवान्को रचना हो भगवान्को आशीर्वाद भए डोकोमा दूध थापे पनि पोखिदँदैन, भाग्यमा भए जे पनि सफल हुन्छ भन्ने जस्ता भाग्यवादी, पुर्पुरोवादी चरम रुढीवादी प्रवचन चलिरहेको देखियो । यस्तै व्रत कथाका नाममा व्यथाहरू आमूल परिवर्तनको अगुवाइ गर्नेहरू चरम भाग्यवादको सिकार भइरहेको देखिन्छ ।
गोमाले शिव शर्मालाई पतिका रूपमा स्वीकार गर्दा कथमा एउटा प्रसङ्ग जोडिएको देखिन्छ । कुप्रा, कान नसुन्ने, अधबेस्रो, ढेब्रो, कैला आँखा भएको, अाँखीभौँ जोडिएको, केश पाकेका, मुखदेखि ¥याल चुहाएका, अत्यन्त कुरुप र बुढो शिव शर्मालाई पति पाउनु भाग्यको लेखा हो, दैवको लीला हो र पूर्वजन्मको फल हो भनिएको छ ।
पूर्व जन्मको फल हो भन्ने देखाउन रामचन्द्रको वनवास, द्रौपदीको चीरहरण, शिवको कालकुट विषपान, यदुवंशको सर्वनाश उदाहरणका रूपमा उल्लेख गरिएको छ । यसरी महिलालाई कल, बल छल प्रयोग गरेर भाग्यवादी, परम्परावादी शिक्षाद्वारा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा चरम असमानता र शोषण गरिएको देखिन्छ ।
स्वस्थानी व्रत कथामा यो जीवन जगतको सृष्टि कसरी भयो भन्ने पनि धार्मिक व्याख्या गरिएको छ । यी कुराहरू विज्ञानसम्मत छैनन् । तैपनि सृष्टिका बारेमा सोच र सोधखोज गर्ने कुरा राम्रै हो । कथामा यो संसारको सृष्टि हँुदा परब्रह्म शिवको इच्छाले ब्रह्मा, विष्णु, रुद्र प्रकट भए भनिन्छ । यिनै त्रिगुण परब्रह्म शक्तिबाट भगवती महामायाको उत्पत्ति भयो पनि भनिन्छ । यी महाशक्ति भगवतीलाई कसैले पनि वशमा राख्न सक्तैन भनिएको छ । अनि तिनै आदिशक्ति र महाशक्तिको रूप स्वस्थानीलाई मानिएको देखिन्छ ।
एकातिर स्वस्थानी व्रत कथामा नारीहरू आदिशक्ति, महाशक्ति परब्रह्म शक्तिका रूपमा उल्लेख गरिएको देखिन्छ भने तिनै शक्तिशाली नारी शक्तिलाई अत्यन्त कमजोर, निम्छरो र दासीका रूपमा उल्लेख गरिएको देखिन्छ । यस्तो खालको सोच र व्यवहार पितृ सत्तात्मक समाजबाट शुरु हुँदै विकसित भएको हुनुपर्छ । पुराण र धर्म ग्रन्थहरूमा एकातिर नारी शक्तिलाई महान् र अर्कातिर पितृ शक्तिलाई महान् भनेर कथा उपकथाहरू बनाएको पाइन्छ ।
कतिपय कथा यथार्थ र कतिपय काल्पनिक कथाहरू सिर्जना गरेर नारीको चरम उपेक्षा, अपमान गर्ने खालको स्वस्थानी व्रतकथा नभएर यो व्यथा हो, वेदना हो र आम नारीको चित्कार हो । स्वस्थानी भनेर एकातिर मातृ शक्तिको पूजा गर्नू अर्कातिर तिनै मातृ शक्तिलाई घनघोर तिरस्कार गर्नु कथा होइन, व्यथा र वेदना हो । यस्ता व्रत कथा र पुराणहरू अब संशोधन गर्नुपर्छ नत्र क्रिस्चियन धर्मावलम्बीहरूले आफ्नो अनुकूल संशोधन गर्ने खतरा देखिन्छ ।