बेलबारीः नयाँ शैक्षिक सत्र शुरु भए पनि स्थानीय तहहरूले कक्षा ८ को वार्षिक परीक्षाफल प्रकाशित गरेका छैनन् । मोरङका अधिकांश स्थानीय तहले लिएको कक्षा ८ को वार्षिक परीक्षाको नतिजा प्रकाशित नहुँदा विद्यार्थी अन्योलमा पर्न थालेका छन् । विद्यालय जाने दिन नजिकिँदै जाँदा समेत परीक्षाफल प्रकाशन हुन सकेको छैन ।
कक्षा ८ को परीक्षाको नतिजा विगत २ वर्ष अघिदेखि स्थानीय तहले प्रकाशन गर्ने गरेका छन् । देशमा सङ्घीयता आएसँगै जिल्ला शिक्षा कार्यालयले प्रकाशन गर्दै आएको नतिजा स्थानीय तहले प्रकाशन गर्न थालेका हुन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिकाले परीक्षाफल प्रकाशन गरेको छैन । विद्यालयलाई नै उत्तर पुस्तिका परीक्षण गर्न दिएको र सबै विद्यालयले उत्तर पुस्तिका दिन ढिलाइ गरेका कारण परीक्षाफल प्रकाशन गर्न समस्या भएको पथरी शनिश्चरे नगरपालिकाका शिक्षा शाखाका अधिकृत दुर्गा सिग्देलले बताए ।
लेटाङ नगरपालिकाले समेत परीक्षाफल प्रकाशित गर्न सकेको छैन । लेटाङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बैशाख ३ गते परीक्षाफल प्रकाशन गर्ने तयारी रहेको बताए । सफ्टवेयरमार्फत् परीक्षाफल प्रकाशन गर्न लागिएकाले छिटो भएको बताए । शिक्षकहरूलाई सफ्टवेयरको विषयमा सिकाउन समय लागेकोसमेत उनले बताए ।
आआफ्नै विद्यालयमा विषयगत शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेर सफ्टवेयरमा विद्यार्थीले ल्याएको नतिजा रासिखकिएको सुन्दरहरैंचा नगरपालिकाका शिक्षा शाखाका प्रमुख सन्तोष बरालले बताए । बेलबारी नगरपालिकाले भने चैत २८ गते नै परीक्षाको प्रकाशन गरिएको जनाएको छ ।
‘नगरपालिकामा विषयगत शिक्षकलाई हाम्रै निगरानीमा उत्तरपुस्तिका परीक्षण गरायौं’ प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले भने नतिजा पनि प्रकाशन गर्याैं ।’
मोरङमा कतै परीक्षाफल प्रकाशन भएका छन् भने कतै अझै उत्तरपुस्तिका परीक्षणका क्रममा रहेका छन् ।