झापाः चालु आर्थिक वर्ष २०७५÷०७६ को ५ महिनाको अवधिमा झापाका १० वटा सामुदायिक वनमा आगलागी भएको छ । यसले जिल्लाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको वन अधिकारीहरु बताउँछन् ।

डिभिजन वन कार्यालय झापाका अनुसार मंसिरदेखि चैत मसान्तसम्ममा जिल्लका १० वटा सामुदायिक वनमा आगलागी हुँदा ५८ दशमलव ७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको छ । नेपालमा डढेलोको प्रकोप वैशाख र जेठमा हुने भए पनि जिल्लाका अधिकांश वनमा माघ र फागुनमा आगलागी भएको जनाइएको छ ।

यो अवधिमा मेचीनगर र भद्रपुर नगरपालिका तथा हल्दीबारी, केचनाकवल र बाह्रदशी गाउँपालिकाका सामुदायिक वन आगलागीबाट प्रभावित भएको कार्यालयको भनाइ छ । झापा जिल्लामा जम्मा ५९ सामुदायिक वन रहेका छन् । वनमा आगो लगाउँदा सुकेका झारपात डढेर नष्ट हुने अनि नयाँ र हरियो घाँस पलाउने भएका कारण स्थानीयले वनमा आगो लगाउने गरेको वन अधिकारीहरुको अनुमान छ ।

उनीहरुले चाँडै हरियो घाँस पलाउने र वनमा खुला भयो भने टाढैबाट जङ्गली जनावर आएको देख्न सकिने कारणले आगो लगाउने गरेको वन अधिकारीहरु बताउँछन् ।

वनमा आगो लगाउँदा गाईवस्तुलाई खुवाउने घाँस पलाउने, जङ्गली जीवजन्तुबाट बच्न सकिनेलगायतका कारण वन नजिकै रहेका उपभोक्ताले नै सामुदायिक वनमा आगो लगाउने गरेको हुन सक्ने उनीहरुले अनुमान गरेका हुन् ।

तर, वनमा आगो लगाउने व्यक्ति वा समूहको पहिचान भने हुन सकेको छैन । यदि पहिचान भए उनीहरूलाई कानुनअनुसार कारवाही हुने बताइएको छ । वनमा हुने डढेलोले जैविकता तथा पर्यावरणमा समेत नकारात्मक असर पार्ने हुँदा नियन्त्रणका निम्ति वाटरसुटर, बेल्चा, दाँतेलगायतका आवश्यक सामग्री वन कार्यालयमा तयारी अवस्थाम राखिएको बताइएको छ ।

यसपालि यति चाँडै धेरै वन क्षेत्रमा डढेलो लाग्नुको मुख्यः कारण पानी समयमा नपर्नु र वनक्षेत्र सुख्खा हुनु हो । पछिल्लो समय वनमा चोरीशिकारी बढेको कारणले उनीहरुबाट पनि आगलागी हुने गरेको डिभिजन वन कार्यालयका कर्मचारीको भनाइ छ । जङ्गली जनावरको सिकार गर्न वनक्षेत्रमा पसेका सिकारीले हरिण, मृगलगायतका जनावर खोज्न सजिलो हुँदा पनि आगो लगाउने गरेको पाइएको स्थानीय बताउँछन् ।

डिभिजन वन कार्यालयसहित वनसम्बन्धी अन्य सङ्घसंस्थाले जिल्लाभर सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् ।