बेलबारीः पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको गाडीको ठक्करबाट घाइते भएका प्रकाश चौधरीको आज मृत्यु भएको छ ।
एक हप्ताअघि शाहलाई दमकबाट विराटनगर विमानस्थल पुर्याएर फर्कँदै गरेको बा ३ च ७९६२ नम्बरको गाडीको ठक्करबाट उनी घाइते भएका थिए । इटहरी उपमहानगरपालिका ९ का प्रकाश चौधरीको विराटनगरको विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।
शाहको सुरक्षामा खटिएका सुरक्षाकर्मी सवार कारले विराटनगरबाट झापा फर्कने क्रममा मोरङको सुन्दरहरैचा नगरपालिकामा को १५ प ९९७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा इटहरी उपमहानगरपालिका ९ का २२ वर्षका हेम चौधरीको सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।
मोटरसाइकल चालक प्रकाशको पनि आज उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामकुमार राईले बताए । पूर्व राजा शाहलाई विमानस्थल पुर्याएर फर्कने क्रममा राति गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो ।