पथरीः मोरङको लेटाङ नगरपालिका अन्तर्गत तेली खोलामा अत्यधिक उत्खनन हुँदा ३ सय बिघा जमिन बाँझै हुने खतरा बढेको छ । तोकिएको मापदण्डभन्दा बढी उत्खनन् हुँदा पैनीका मुहान गहिरिएर खेतमा पानी नउठेपछि खोला पूर्व र पश्चिमका किसानको करीब ३ सय बिघा जमीन बाँझो हुने भएको हो ।

पापु जनता पैनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले खोलाबाट मापदण्डभन्दा बढी गिटी बालुवा निकाल्दा कुलोमा पानी नउठेको बताए । खोला गहिरिने क्रम नरोकिए यस पटकको बर्खामा लेटाङ–९ बाह्रगोठेमा धान रोपाइँ नहुने ढकालको भनाइ छ । उनका अनुसार बाह्रगोठेमा मात्र पापु पैनीले सिँचाइ हुने करीब १ सय बिघा जमिन बाँझै हुने छ ।

पैनीको बाँध उठाउन नजिकै सेउला, ढुङ्गा तथा माटो केही नभएको र खोला गहिरो भएकाले गर्दा पैनीमा पानी नउठ्ने जटिल समस्या सिर्जना भएको छ । ‘पोहोर त डोजरले पैनी सोझ्याइदिएको थियो, यसपाली त्यो गर्दैन रे’, अध्यक्ष ढकालले भने, ‘डोजरले खोला खनेकोे खन्यै छ, हामीले धेरैपटक ठेकेदारलाई भनिसक्यौं । हामीले भनेको मानिरहेको छैन ।’ वडा कार्यालयमा पनि डेलिगेसन गएको उनले सुनाए । ‘अब हामीलाई बालबच्चा पाल्न समस्या भइरहेको छ । खोलो खनेकाले गर्दा हामी पीडित भएका छौं’, ढकालले गुनासो सुनाए ।

Teli khola.2

पोहोर पनि पैनीमा पानी उठ्न समस्या भएको बताउँदै भत्किएको पैनी बनाइदिन आग्रह गर्दा ठेकेदारले चासो नदिएको अर्का स्थानीय काजीमान मङ्ग्रातीले बताए । पैनीमा पानी नउठाई खोला खन्न नहुने मङ्ग्रातीको भनाइ छ ।

यस्तै, तेली खोला पश्चिममा रहेका पैनीबाट पानी नउठ्दा करीब २ सय बिघा जमिन बाँझो हुने स्थानीय विज्ञान निरौलाले बताए । तेली खोलामा भएका आधा दर्जन पैनीका मुहानमध्ये उत्खनन भएको क्षेत्रमा २ वटा पैनीका मुहान रहेको उनको भनाइ छ । पैनीका मुहान गहिरिएर सिँचाइ समस्या भएको सम्बन्धमा पटक–पटक ठेकेदार र वडा कार्यालयमा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको निरौलाले गुनासो गरे । खोलाजन्य पदार्थ अवैध रूपमा निकासी भइरहेकाले यसलाई जनप्रतिनिधि र सम्बन्धित निकायले रोक्नुपर्ने निरौलाले बताए । ठेक्का सम्झौता अनुसार एक मिटर गहिराइ मात्र खन्नु पर्नेमा ठेकेदारले तीन मिटरसम्म खनेको उनले दाबी गरे ।
खेतमा सिँचाइ समस्या हुनुका साथै दैनिक टिपर कुदेर पथरी–जाँते सडकमा खाल्डाखुल्डी भएकाले सडकमा हिँडिनसक्नु भएको स्थानीय ठगेन्द्र मङ्ग्राती बताउँछन् ।
तेली खोलाका ३ वटा नाकाबाट १ लाख ४० हजार घनमिटर गिटी बालुवा निकाल्न नगरपालिकाले ठेक्का लगाएको हो । ३ वटामध्ये २ नाकाबाट नै तोकिएको परिमाणमा गिटी बालुवा उत्खनन भइसकेको र अब उत्खनन नरोके आगामी वर्षातको समयमा जोखिम निम्तिने स्थानीयको भनाइ छ ।

Teli khola Paini-1

प्रदेश सांसद उपेन्द्र घिमिरेको गाउँ मोरङको जाँतेमा अवैध खोला उत्खनन भइरहँदा पनि सम्बन्धित निकाय भने मौन बस्दै आएको छ ।
जिल्ला समन्वय समितिको खोला ठेक्काकै समयमा मोरङको क्षेत्र नं. १ ‘ख’ का सांसद उपेन्द्र घिमिरे, ‘क’ का सांसद् कुशल साम्बा र मोरङ क्षेत्र नं. ३ ‘क’ का सांसद् सूयर्माराज राईले यसअघि खोला दोहन भएको भन्दै प्रदेश सरकारबाट रोकेका थिए । अहिले सांसद्कै गाउँ लेटाङ–९ जाँतेमा पर्ने तेली खोलामा स्काभेटर प्रयोग गरी दैनिक गिटी निकासी भइरहेको छ ।

यस विषयमा लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला पोख्रेलले जिल्ला समन्वय समितिले स्टकको माल उठाउन पूर्जी कति दिएको र कति लगेको भनेर हेर्ने सम्बन्धित व्यक्ति नभएर समस्या हुने गरेको बताइन् । उपप्रमुख निरौलाले चाँडै प्राविधिक सहितको टोलीले अनुगमन गरी मापदण्ड विपरीत उत्खनन गरेको पाइए काम रोक्ने प्रतिबद्धता जनाइन् ।

यता, अनुगमन समिति सदस्य एवं ९ नं. वडाध्यक्ष कृष्णप्रसाद लुइँटेलले तेली खोलाको ३ वटा नाकामध्ये सिमाना नाका र स्माली नाकाबाट तोकिएको परिमाणमा गिटी बालुवा निकालिसकेको जानकारी दिए ।
‘पापु गौंडा नाका चाहिँ खन्न बाँकी रहेको देखिन्छ,’ वडाध्यक्ष लुइँटेलले भने, ‘तथापि २ वटा नाकामा खनाइको गहिराइ हेर्दा ३ वटै नाका बराबरको उत्खनन भइसक्यो भन्ने हाम्रो बुझाइ हो ।’ खोलामा तोकिएको मापदण्डभन्दा बढी उत्खनन भयो भन्ने गुनासो आए पनि यकिन गरेर मात्र निकासी रोक्ने वडाध्यक्ष लुइँटेलले बताए ।

Teli khola.2

जिल्ला समन्वय समितिले तेली खोलाको तीन नाकामध्ये दुईवटा बन्द गर्नु, अर्को खन्न बाँकी रहेको पनि दुइटाको हिसाब गरेर मात्र गर्नु भनेर निर्देशन दिइसकेको सभापति नरेश पोखरेलले बताए । ‘अर्को निर्णय नहुन्जेलसम्मका लागि उत्खनन् नगर्नु नगराउनू भनेर हामीले चिठी दिइसकेका छौं’, सभापति पोखरेलले भने ।
अनियन्त्रित रूपमा खोला दोहन गरी सिँचाइका पैनीका मुहान बिगारेका कारण उक्त पैनी नबनाएमा आफूहरू खोलामा अनशन बस्ने स्थानीयको चेतावनी छ ।