विराटनगर: विराटनगरको वार्ड नम्बर ७ हाटखोला सिघियामा तटबन्धन सहितको हरितपार्क निर्माण हुने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले आज विराटनगरमा तटबन्धन सहितको हरित पार्क निर्माणको सिलन्यास गरेका छन् ।
सङ्घीय सरकारको १ करोड र विराटनगर महानगरपालिकाको ५० लाखको लागतमा तटबन्धन सहितको पार्क निर्माण गरिने भएको हो । तटबन्धन सहितको पार्कको उद्घाटन गर्दे मन्त्री पण्डितले जुनसुकै सरकारले विकास निर्माणको काम गरे पनि विरोध गर्न नहुनेमा जोड दिए । उनले विकास निर्माणमा सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताए ।
काठमाडौँ पछाडि विराटनगरलाई दोस्रो ठुलो र विकसित सहर बनाउने अभियानमा आफू लागेको बताउँदै सबै नगरवासीलाई जुट्न पनि उनले आग्रह गरे । कार्यक्रममा बोल्दै विराटनगरका महानगरपालिकाका मेयर भीम पराजुलीले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह मिलेर विकासका लागि एकजुट भएर अगाडि बढ्न आफू तयार रहेको बताए ।
यस्तै उनले महानगर भित्रका ताल तलैया, पोखरी,नदीको उचित संरक्षण र सम्बद्र्धन गर्ने बताए । कार्यक्रममा वार्ड नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, युवासंघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, समाजसेवी बेनी गोपाल मुन्दडा लगायतको सहभागिता रहेको थियो ।