विराटनगरः प्रदेश १ सरकारको सहकार्यमा प्रदेश १ का सबै एक सय ३७ स्थानीय तहमा स्काउट अभियान शुरु भएको छ ।
सामुदायिक विद्यालय र कलेजमा नेपाल स्काउटले बुधबारबाट अभियान शुभारम्भ गरेको हो । स्काउटको प्रदेश १ स्तरीय आधारभूत तालीमको विराटनगरमा उद्घाटन गर्दै मुख्यमन्त्री शेरधन राईले स्काउटले बालबालिका र युवालाई अनुशासित बनाउन सहयोग गर्ने बताए । प्रदेश सरकारसँग नेपाल स्काउटको सहकार्य पनि शुरु भएको मुख्यमन्त्री राईले घोषणा गरे ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले युवालाई दुव्र्यसनबाट मुक्त बनाउन तथा परोपकार भावना जगाउन स्काउट लाग्नुपर्नेमा जोड दिए । प्रदेश नम्बर १ का उपसभामुख सरस्वती पोखरेलले समाजमा रहेको विकृति र विसङ्गति रोक्न र युवाहरूलाई अनुशासित बनाउन नैतिक शिक्षाको आवश्यकता रहेको बताइन् । नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले स्काउट सामाजिक संस्था भएको चर्चा गरे ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव केदार न्यौपाने, प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीलगायतले स्काउटले सामाजिक भावना जगाउन ठूलो भूमिका खेलेको बताए । स्काउट तालीममा ३ सय २७ पुरुष र १ सय ९५ महिला सहभागी छन् ।