इटहरीः पत्रकारलाई साइबर क्राइम विरुद्ध मुद्दा दर्ता परे पछि देशभरका पत्रकार अान्दाेलित बनेका छन् । आज पत्रकारहरूले देशभरका जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिने कार्यक्रम रहेसँगै सुनसरी पत्रकारले पनि सदरमुकाम इनरुवामा धर्ना दिएका छन् ।
नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाको अगुवाइमा विभिन्न संचारगृहमा अावद्द पत्रकारहरू इनरुवामा भेला भई प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरे । महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकारले स्वतन्त्ररूपमा लेख्न नपाएको भन्दै विरोध जनाए । उनले नेपालमा विद्युतीय अपराध एेन धारा ४७ र ४८ अनुसार पक्राउ गर्ने काम बन्द गर्नु पर्ने बताए ।
पत्रकारले गल्ती गरे नियमनकारी निकाय हुँदाहुँदै अपराधीको जस्तो व्यवहार गर्नुले प्रेस स्वतन्त्रताको खिल्ली उडेको टिप्पणी गरे । उनले विद्युतीय कारोबारी एेनकाे दफा ४७ र ४८ खारेज गर्नु पर्ने धारणा राखे ।
धर्नामा जिल्लाभरि विभिन्न ठाउँमा सक्रियरूपमा पत्रकारिता गर्ने संचारकर्मीहरूकाे उपस्थिति रहेको थियो ।