विराटनगरः जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसँगै मोरङमा नागरिकता लिनेको भीड बढेको छ ।

बिहीबारसम्म ७ सय ४५ जनाले नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । टोकन प्रणालीअनुसार नगारिकता वितरण गरिएको र ३ हजार ५ सय टोकन वितरण भएको सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिइन् । मोरङमा इलाका प्रशासन कार्यालय रङ्गेली, र इलाका प्रशासन कार्यालय उर्लाबारीबाट पनि नागरिकता वितरण भइरहेको छ ।

रङ्गेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासनबाट ६ सय ६६ जनाले नागरिकता प्राप्त गरिसकेका छन् । यसअघि सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नागरिकता वितरण रोक्न अन्तरिम आदेश दिएको थियो । चैत २५ को सो आदेशलाई सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि नागरिकता वितरणको बाटो खुलेको हो ।

वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने गरी गृह मन्त्रालयले गत चैत १९ गते मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा सूचना पठाएको थियो । नागरिकता पाउनका लागि आमा र बाबुुको नेपाली नागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुुपर्छ । २०६३ सालमा टोलीले देशभर १ लाख ७० हजार ४२ जनालाई जन्मको आधारमा नागरिकता वितरण गरेको थियो ।