इटहरीः चालु आर्थिक वर्ष लागेपछि सूचीकरण शुल्क कटौतीको विषयमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज अल्झिएपछि नयाँ सेयर सूचीकृत हुन सकेका थिएनन् ।
अघिल्लो साता विवाद साम्य भएपछि बुधबार एकै दिन ४ करोड ४१ लाख ७२ हजार कित्ताभन्दा बढी सेयर सूचीकृत भएका छन् । बोर्डले संशोधन गरेर पठाएको ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ लाई नेप्से सञ्चालक समितिको बैठक बसेर पारित गरेपश्चात सूचीकरणको काम सुचारु भएको हो ।
धितोपत्र बोर्डले कम्पनीहरूले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई तिर्नुपर्ने सूचीकरण शुल्क कटौती गरिदिएपछि नेप्सेले सूचीकरणको काम बन्द गरेको थियो ।
सूचीकरण शुल्क कटौतीले नेप्से सञ्चालनमा नै समस्या आउने भन्दै शुल्क नघटाउन बोर्डलाई आग्रह गरेपछि बोर्डले साउन अन्तिम साता बोर्ड बैठक बसेर ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ संशोधन गरेर स्वीकृत गरेपछि सूचीकरणको बाटो खुला भएको थियो ।
बुधबार सेयर सूचीकृत हुने कम्पनी
चालु आर्थिक वर्षमा पहिलो पटक नेप्सेमा ३ वाणिज्य बैंक, ४ विकास बैंक र २ लघुवित्त कम्पनीको गरी ९ कम्पनीको सेयर बुधबार सूचीकृत भएको हो । ती कम्पनीले बोनस, हकप्रद, एफपिओ र एक्वायरपछिको सेयर सूचीकृत गराएका हुन् ।
सिद्धार्थ बैंकको ९५ लाख ५६ हजार ५ सय ६४ कित्ता बोनस र हिमालयन बैंकको एक करोड ६२ लाख २९ हजार ५९ कित्ता बोनस सूचीकृत भएको हो । त्यस्तै, एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ पनि सूचीकृत भएको छ । यसरी ३ वटा वाणिज्य बैंकको मात्रै ३ करोड ७२ लाख ७ सय ८६ कित्ता नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएको अन्य सेयरमा कर्णाली डेभलपमेन्ट बैंकको ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद सेयर रहेको छ । त्यस्तै, हाम्रो विकास बैंकको ३ लाख ३४ हजार ८ सय ८८ कित्ता बोनस, भार्गव विकास बैंकको २१ लाख १२ हजार २ सय कित्ता हकप्रद सूचीकृत भएको छ ।
उता, काबेली विकास बैंकले भने माउण्ट मकालु विकास बैंकको प्रप्तिपछि ९ लाख १२ हजार ९ सय १२ कित्ता सेयर सूचीकृत भएको हो ।
सूर्योदय लघुवित्तको ७६ हजार कित्ता बोनस र मिर्मिरे लघुवित्तको १ लाख ३८ हजार ६ सय कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ ।