बेलबारीः नेकपा बेलबारीले आर्थिक वर्ष ०७६÷०७७ मा जनमुखी बजेट ल्याउन जनप्रतिनिधिहरूलाई सुझाव दिएको छ । पार्टी कार्यालयमा कार्यक्रम आयोजना गरी सांसद्, मेयर, उपमेयर तथा अन्य जनप्रतिनिधहरूलाई जनमुखी बजेट ल्याउन सुझाव दिइएको हो ।
मोरङ क्षेत्र नम्बर– ३ का सांसद्समेत रहेका कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री भानुभक्त ढकाललाई नेकपाले लोहोन्द्रा, चिस्याङलगायतका खोलामा तटबन्धन गरिदिन तथा भाउन्ने–आमतोला सडकमा कालोपत्रेका लागि थप बजेटको व्यवस्थापन गरिदिन आग्रह गरेको छ । यस्तै, बेलबारी–८ को पेट्रोलखानी अन्वेषण गरिदिनसमेत नेकपाले माग गरेको छ । आगामी बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्नसमेत सुझाव दिएको नेकपा बेलबारीका संयोजक इरान राईले जानकारी दिए ।
यस्तै, प्रदेशसभाका सदस्य राजकुमार ओझालाई नेकपाले सडक, पैनी, सिँचाइ, पर्यटकीय क्षेत्रमा बजेट विनियोजन गरिदिन आग्रह गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीलाई नगरको सामाजिक, आर्थिक तथा भौतिक क्षेत्रमा जोड दिन सुझाव दिइएको छ ।
सुझावहरूका विषयमा धारणा राख्दै मेयर सुवेदीले नयाँ कार्यक्रमलाई जोड दिइने बताए । उनले जनताबाट आएका सुझावहरूकै आधारमा बजेट विनियोजन गर्ने समेत बताए । टोलटोलमा गएर जनतासँग छलफल गरेर मात्रै बजेट विनियोजन गर्नेसमेत उनले प्रतिबद्धता व्यक्त गरे ।
कानुनमन्त्री ढकालले आउँदो बजेटबाट देशले फड्को मार्ने बताए । उनले बजेटले विकास निर्माणसँगै युवादेखि वृद्धसम्मलाई समेट्नेसमेत बताए ।