इटहरी: नेपाली काँग्रेसका उपसभापति विजय कुमार गच्छाधारले सुनसरीमा धार्मिक सर्किट बनाएर अगाडी बढाउन सकिने बताएका छन् । सुनसरीको चतराधाममा आयोजना भइरहेको अर्दमहाकुम्भ मेलामा उनले सुनसरीलाई धार्मिक पर्यटनको मार्फत सुन जस्तै चम्किलो बनाउन सकिने तर्क गरे ।

अर्दमहाकुम्भका आयोजक कृष्णदास दि महाराजको निमन्त्रणा मान्न उनी चतरा पुगेका थिए । महाराज सँगको भेटघाट पछि उनी औपचारिक कार्यक्रममा सहभागी भएका हुन् । त्यसैक्रममा गच्छाधारलाई कृष्णदासले ताम्रपत्र सहित सम्मान गरेका थिए ।
सम्मानित भएपछि उनले यस्ता महाकुम्भले पर्यटन प्रवर्द्धनमा फाइदा पुग्ने बताए । नेपाली हिन्दु धर्मावलम्बीहरू भारतका विभिन्न स्थानमा धार्मिक भ्रमणमा गइरहेको बेला नेपालमै यस्ता महाकुम्भ आयोजना भएपछि भारतीय पर्यटक भित्राउन सकिने उनको भनाइछ ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका उनले आफू मन्त्री भएको बेला महाकुम्भ आयोजना भएको र त्यतीबेलापनि आफूले सक्दो सहयोग गरेको स्मरण गराए ।

सुनसरीमा चतरा धाम देखी बाहेक धेरे धार्मिक आस्थाका धरोहर हरू रहेकोले त्यसको प्रचारप्रसारमा लाग्न आग्रह गरे । राम धुनी देखी चतरा हुँदै बराह क्षेत्र सम्म एक लाइन र बराह क्षेत्र देखी बिष्णुपादुका, पिण्डेश्वरी, दन्तकाली र बुढासुब्बालाई अर्कोलाईन गरी दुवैलाइनलाई मिलाएर धार्मिक सर्किट बनाउन सकिने बताए ।
‘राम धुनी आएको भक्तजन लाई चतरा ल्याउन सक्नुपर्छ । चतरा आएको भक्तजनले पिण्डेश्वरीमात्र हैन बराह क्षेत्र र बिष्णुपादुका पनि भ्रमण गर्नुपर्छ ।,’ उनले भने , ‘त्यसको वातावरण मिलाउन स्थानीय देखी प्रदेश र केन्द्रीय सरकार सम्म लाग्नुपर्छ । यती धेरै सम्भावना भएको सुनसरीलाई धार्मिक जिल्ला भनेर चिनाउन पाइयोस् ।’

उनी सँगै बोलेका पूर्वमन्त्री तथा सङ्घीय सांसद सिताराम मेहताले सुनसरीमा भएको धार्मिक क्षेत्रको महत्त्वलाई आफूहरूले चिन्न नसकेको बताए । चतरामा बसेर सुनसरी र पुरै देशलाईनै चिनाउने गरी काम कृष्णदास जी महाराजले गरिरहेको भन्दै प्रशंसा गरे ।

औपचारिक कार्यक्रमको समापनमा बोलेका कृष्णदासले सुनसरीको धार्मिक महत्त्वको विषयमा एउटै मञ्चमा व्याख्या गर्न नसकिने बताए । चतरामा भइरहेको महाकुम्भ मेलाले भारतमा मात्र महाकुम्भ हुनुपर्छ भन्ने मान्यता लाई गलत साबित गरी दिएको उनको तर्क थियो । महाकुम्भकै नाममा हजारौँ भत्तजनहरु भारत जाने गरिरहेको अवस्थामा आफूहरूले महाकुम्भ आयोजना गरेर उल्टै भारतीय पर्यटकलाई सुनसरी भ्रमण गराएको उनले बताए ।