झापाः के आर भण्डारी फाउण्डेशनले झापाको शान्तिनगरमा ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने भएको छ । फाउण्डेशनको शनिबार सम्पन्न प्रथम वार्षिकोत्सवका अवसरमा अध्यक्ष सविता भण्डारीले २५ लाख रुपैयाँको लागतमा चौतारी निर्माण गर्ने घोषणा गरेकी हुन् । यसका लागि स्थानीयले केही जग्गा उपलब्ध गराएको बताइएको छ ।

उक्त चौतारी निर्माणमा बुद्ध शान्ति गाउँपालिकाले सघाउने भएको छ । स्थानीय गढीगाउँ माविको उत्तरतर्फ चौतारी निर्माण हुने बताइएको छ । तत्कालीन शान्तिनगर गाउँ पञ्चायतका प्रधानपञ्च केशवराज भण्डारीको स्मृतिमा स्थापना गरिएको फाउण्डेशनले निर्माण गर्ने नागरिक चौतारीमा १ सय जनाभन्दा बढी बस्न मिल्ने सभाहल सहित २ वटा आराम गर्ने कोठा, भान्सा घर र शौचालय समेत हुने फाउण्डेसनकी अध्यक्ष भण्डारीले बताइन् ।