झापाः मेचीनगरका ५ जना व्यवसायीले नयाँ वर्षको शुरुवातसँगै फाइभ स्टार नेटवर्किङ प्रा.लि सञ्चालनमा ल्याएको पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् । मेरो टिभीसँग सहकार्य गर्ने गरी फाइभ स्टार केवल नेटवर्कले टिभी र इन्टरनेटको सेवा सुचारु गरेको हो ।

हाल सेवा प्रवाह गरिरहेका अन्य केवल नेटवर्किङ भन्दा गुणस्तरीय तथा फरक रुपमा नयाँ प्रविधिसहित सेवा शुरु गरेको पत्रकार सम्मेलनमा बताइयो । शुरुमा मेचीनगर क्षेत्रलाई कार्यक्षेत्र बनाइएको र ग्राहकको माग बमोजिम अवस्था हेरेर अन्य क्षेत्रमा सेवा विस्तार गरिने योजना रहेको सञ्चालकको भनाइ छ ।

इन्टरनेट बेसको सिस्टममा सञ्चालन हुने भएकाले विद्युत अवरोध हुँदासम्म कुनै असर नपर्ने सञ्चालक दीपकप्रसाद पोखरेलले बताए । अहिलेसम्म २ सय ५० घरमा यो सुविधा जडान भइसकेको र माग प्रशस्त रहेको सञ्चालकले बताए । उच्च गुणस्तरका च्यानल प्रशारण गर्ने बताइएको छ । न्यूनतम मासिक २ सय रुपैयाँदेखि अधिकतम ७ सय रुपैयाँसम्म सेवा शुल्क बुझाउनुपर्ने सो च्यानलमा २ सय ७० वटा च्यानल रहेको बताइएको छ ।

सञ्चालकमा दीपकप्रसाद पोखरेल, प्रीतम काफ्ले, गोपाल तामाङ, सुशील आचार्य र राजकुमार पराजुली रहेका छन् ।