इटहरीः युवा स्वरोजगार कोषमार्फत् ऋण लिएर लगानी गर्नेहरू बढ्दै गएको पाइएको छ । सुनसरीमा २०६९ सालदेखि जिल्ला संयोजन तथा अनुगमन समिति गठन भई लगानी हुन थालेपछि ऋण लिनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।
अनुगमन समिति बन्नुभन्दा अघि पनि सुनसरीमा सो कोषको ऋण लिने ऋणीहरू भए पनि सो समिति बनेपछि भने स्पष्ट नीतिसहित कोषको रकम लगानी भएको पाइएको छ ।
समितिका सदस्य सचिव चिरनजीवि भट्टराईका अनुसार समिति गठन हुनुपूर्व पनि १ करोड १५ लाख रुपैयाँको ऋण लगानीको सम्झौता भई ९० लाख रुपैयाँ लगानी भएको थियो । समितिले जानकारी दिएअनुसार ०६९ सालपूर्व २३ महिलासहित १ सय २८ जनाले सो ऋण लिएका थिए ।
०६५ सालदेखि ऋण लगानी
सुनसरीमा ०६५ सालदेखि कोषको रकम लगानी भएको र हरेक वर्ष सो रकम बढिरहेको देखिन्छ । समितिले उपलब्ध गराएको प्रगति विवरणमा उल्लेख भएअनुसार ०६९ सालपूर्व ५ वटा संस्थाले १ करोड १५ लाख ऋण लिने सम्झौता गरे पनि ९० लाख रुपैयाँमात्रै ऋण परिचालन भएको थियो । २३ महिला र १ सय ५ पुरुषले सो ऋण लिएका थिए ।
पुरुषभन्दा महिला ऋणी धेरै
प्रारम्भिक चरणमा महिला ऋणीको सङ्ख्या थोरै भए पनि पछिल्ला चरणमा लगानी भएका ऋणमा महिलाको सङ्ख्या उल्लेख्य रूपमा बढेको समितिले जनाएको छ ।
०६९ सालपूर्व जम्मा १ सय २८ ऋणीमध्ये महिलाको सङ्ख्या २३ जनामात्रै थियो । तर आर्थिक वर्ष ०६९÷०७० मा झण्डै बराबरको सङ्ख्यामा महिला र पुरुष व्यवसायीले ऋण लिएको देखिन्छ । सो आर्थिक वर्षमा २ सय ८२ जनाले ऋण लिएकामा १ सय ३३ जना महिला र १ सय ४९ जना पुरुष थिए ।
आर्थिक वर्ष ०७३/०७४ मा ३ सय ६७ जनाले ऋण लिँदा २ सय ४ जना महिला थिए भने १ सय ६३ जनामात्रै पुरुष उद्यमी थिए ।
गत आर्थिक वर्षको अन्तिम विवरण आउन बाँकी रहेको भट्टराईले बताए । गत वर्ष लगानी भएको रकममध्ये ५ वटा सहकारी संस्थाको विवरण नआएको र बाँकी १३ वटा सहकारी संस्थाले लगानी गरेको ऋणसम्बन्धी सम्पूर्ण विवरण आइसकेको उनको भनाइ छ ।
‘पुराना सहकारीले सजिलै ऋण लगानी गरेका छन् । तर, पहिलो पटक कोषको ऋण लिएर लगानी गर्ने संस्थाले अन्तिम विवरण पठाउन बाँकी छ,’ फोन सम्पर्कमा उनले भने, ‘सबै विवरण आउँदा अघिल्लो वर्ष ऋण लिने उद्यमीको सङ्ख्या भन्दा गत वर्ष ऋण लिनेको सङ्ख्या बढी नै हुने छ ।’
लगानी रकम पनि बढ्दै
कोषको लगानी रकम पनि बढिरहेको समितिले जनाएको छ । ०६५ सालपूर्व १ करोड १५ लाख रुपैयाँको सम्झौता भएकोमा ९० लाख रुपैयाँ लगानी भएको थियो । आर्थिक वर्ष ०६९÷०७० मा ३ करोड २५ लाख र आर्थिक वर्ष ०७३÷०७४ मा ५ करोड ८१ लाख २० हजार रुपैयाँ लगानी भएको थियो । गत आर्थिक वर्षको अपूर्ण विवरण अनुसार ९ करोड रुपैयाँको सम्झौता भएकोमा ५० प्रतिशत अर्थात् ४ करोड ५० लाख रुपैयाँ निकासा भई लगानी भएको छ । अन्तिम डाटा भने आउन बाँकी छ ।
कसरी पाइन्छ ऋण
युवा स्वरोजगार कोषको रकम लिनको लागि परियोजना धितो राख्नुपर्छ । कोषले सिधै लगानी नगरी विभिन्न वित्तीय संस्थामार्फत् ऋण लगानी गर्छ । जुनसुकै वित्तीय संस्थामार्फत् लगानी हुने भए पनि ऋणको सीमा थोरै भएकाले वाणिज्य बैंक, विकास बैंक र फाइनान्सले कोषमार्फत् ऋण लगानी गर्ने गरेका छैनन् । यद्यपि शुरुको वर्ष भने सुनसरीमा तत्कालीन किस्ट बैंकले कोषको रकम लगानी गरेको थियो । त्यसपछि भने सुनसरीका बैंक, फाइनान्स र लघुवित्तले कोषको रकम उपयोग गरेका छैनन् ।