पथरी: गिटी कुट्दा हत्केलाको छालाका पत्र उक्किएर चिराचिरा परेको उनको हात, घामले डढेको उनको त्यो अनुहार, लुगा फाटेर लाज छोप्न नसकेको शरीर र प्लाष्टिकलाई केही बाँस, ढुङ्गाले थिचेको छानो, बनमाराको बेराले बेरेको झुप्रो हेर्दा टीठ लागेर आउँछ ।

मोरङको चिसाङ खोला बगरमा ढुङ्गासँग साइनो गाँस्दै आफ्नो र एउटा बालकको भविष्य कोर्दै बसेकी ४९ वर्षीया लक्ष्मी राईको जीवनमा सुखका दिन कहिल्यै आएनन् । गिटी कुटेर दुई जनाको गुजारा चलाइरहेकी लक्ष्मीलाई भगवान् छन् भन्ने कुरामा विश्वास लाग्दैन, बरु उनले त्यही चिसाङ खोलालाई मन्दिर र त्यहाँका ढुङ्गाहरूलाई नै देवता मानेकी छिन् र तिनैको पूजा गर्छिन् । किनभने तिनै ढुङ्गाको गिटी बेचेर आएको पैसाले उनको प्राण धानेको छ । उनले आफ्नो र छोराको भविष्य पनि त्यही ढुङ्गामा देखेकी छिन् ।

लक्ष्मीका जीवनका दर्दनाक कथा सुन्दा आँखा नरसाउने विरलै होलान् । भोजपुरमा वीरध्वज र इन्द्रकुमारीकी साइँली छोरीको रूपमा जन्मिएकी लक्ष्मीले आफू १२ वर्षको हुँदा बुबालाई गुमाइन् । बुबाको मृत्यु भएको एक वर्ष नबित्दै आमा ठूलोबुबासँग पोइल गइन् । लक्ष्मीभन्दा माथिका २ जना दाजुहरू पहिले नै खसेका रे । एक जना दाजु माइली दिदी, कान्छी बहिनी र उनी ४ जनालाई आमा र बाबुले टुहुरो बनाएर गएपछि भने उनका कष्टका दिन शुरु भए । ‘नून बोक्न चतरा आउने गथ्र्यौं’, लक्ष्मीले अतीतलाई सम्झिँदै भनिन्, ‘म १९ वर्षकी थिएँ होला, त्यसैताका धरानतिर आएर एउटा सन्तुलाल भन्ने माडेको घरमा काम गर्न थालेँ ।’

७ वर्ष जति काम गर्दा पनि पैसा नथपिदिएपछि उनले मारवाडीको घर छाडेर ज्याला मजदुरी गर्न थालिन् रे । ‘त्यस्तै २०५३ सालतिर होला, त्यतिबेला घोपा क्याम्प भर्खर बन्न थालेको थियो, म पनि त्यहीँ काम गर्न थालेँ’, उनले भनिन्, ‘काम गर्दै जाँदा उहाँ (श्रीमान्) सँग चिनजान भयो ।’ उनका श्रीमान् फौदबहादुर त्यहाँ राजमिस्त्री काम गर्दा रहेछन् । दुई वर्ष त्यहाँ काम गरेपछि दुवै जनाले बिहे गर्ने निर्णय गरी २०५५ असारमा काम छोडेर फौदबहादुरको दिदीकोमा सिक्किम गई बिहे गरे ।
बिहे गरेको केही महिनासम्म त लक्ष्मीको जीवनमा खुशीले छाएको थियो । तर त्यो खुशी पानीको फोका झैं फुटेर गयो र फेरि कष्टका दिनहरू आए । आमाजुकोमा केही महिना बसेर अहिले बसेको ठाउँ मोरङको कानेपोखरी–५ (साबिक केरौन–१) स्थित चिसाङ खोलाको बगरमा आई गिटी कुटेर नवविवाहित जोडी गुजारा चलाउन थालेका थिए ।

त्यसै क्रममा बिहे गरेको वर्ष दिन बित्न नपाउँदै चैतदेखि फौदबहादुर प्यारालाइसिस भएर ओछ्यान परे । अब भने लक्ष्मीको काँधमा अर्को पनि जिम्मेवारी आइलाग्यो । ४ महिनाको बच्चा पेटमा लिएर उनी दिनहुँजसो खोलाका ढुङ्गा भेला गर्दै गिटी कुटेर आएको पैसाले बिहान बेलुकाको छाक टार्दै बचेको पैसाले श्रीमान्को उपचार गर्न थालिन् ।
‘त्यतिबेला एक ट्याक्टर गिटीको जम्मा १ हजार ६ सय मात्र थियो’, लक्ष्मीले भनिन्, ‘एक ट्याक्टर गिटी बनाउन महिना दिन लाग्थ्यो ।’ उनी महिनाको १ हजार ६ सय रुपैयाँको आम्दानीले दुई जनाको परिवार पालेर केही बचाउँदै श्रीमान्को उपचार गर्दै गइन् ।

‘आज निको हुन्छ कि भोलि हुन्छ कि भन्दै दबाई गरेँ । तर केही सीप लागेन’, आँखाभरी आँशु पार्दै उनले भनिन् । आमाबाबुको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न नपाएकी लक्ष्मीले जीवनसाथीको माया पनि पाउन सकिनन् । ओछ्यान परेका श्रीमान्को स्याहार गर्नु कि, काखको छोरो हुर्काउनु ? उनलाई ठूलो आपत् आइलाग्यो ।

२०५८ जेठ महिनामा एक सुरमा गिटी कुट्दै गर्दा ढुङ्गाको टुक्रा उछिटिएर नजिकै खेल्दै गरेको २ वर्षीय छोराको आँखामा लाग्यो । ‘खेल्दै मेरो छेवैमा आइपुगेको थियो । ढुङ्गा उछिटिएर लागेछ’, लक्ष्मीले भनिन्, ‘शुरुमा त सानो छेस्का प¥यो कि जस्तो लागेको थियो । केही छिनपछि माड्दै गयो । आँखा नै बिग्रियो ।’ उनले उपचारका लागि पथरीसम्म त पु¥याएकै हुन् तर त्यहाँ उपचार नभएपछि आम्दा अस्पताल लानु भनेका रहेछन् । बिहान बेलुकाको छाक टार्न श्रीमान्को उपचार गर्न नै मुस्किल भएको बेला लक्ष्मीले छोराको उपचार गर्न नसकी त्यत्तिकै छोडिन् । त्यसले गर्दा छोरा समेलले एउटा आँखा गुमाए ।

करीब ११ वर्ष जति स्याहार चाकर गरेपछि श्रीमान्ले पनि यो संसारबाट लक्ष्मीलाई छोडेर गए । २०६६ पुसमा श्रीमान्को मृत्यु भएपछि शोकमा डुबेकी उनलाई छोराको भविष्य उज्ज्वल बनाउने चिन्ता थपिएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग उत्तर चिसाङ खोला किनारमा रहेको त्यो झुप्रोमा आमा छोरा बस्छन् । बिहान बेलुकाको छाक टार्ने चिन्तासँगै वर्षाको झरीमा यी दुई प्राणीको निद्रा हराउँछ । झरीको बेला तपतप चुहिने त्यो पानीको थोपाले आफ्नो मृत्युका दिन गने झैं लाग्छ रे लक्ष्मीलाई । ‘बर्खामा चिसाङ उर्लिएर आउँदा घरै बगाएर लैजाला कि जस्तो गर्छ, त्यहींमाथि हुरी बतासले यो प्लाष्टिकको छाना उडाउला भन्ने पीर उस्तै हुन्छ,’ एक सासमा उनले भनिन् ‘आखिर जे जस्तो भए नि यो छोरालाई पढाउन पाए पछि सुख पाइन्थ्यो कि ।’

जीवनभर सुखको अनुभूति गर्न नपाएकी लक्ष्मीलाई छोराले भविष्यमा सुख देला कि भन्ने झिनो आश भने मरेको रहेनछ । ‘पाखुरीमा बल छउञ्जेल यहीँ गिटी कुटेर भए पनि पेट त पालिन्छ, तर अपर्झट बिमारी परिहालियो भने र यो छोरालाई पढाउने खर्च भने कहााबाट ल्याउने,’ उनले भनिन् ।
अहिले उनका छोरा समेल कानेपोखरी–५ स्थित सिंहदेवी माविमा कक्षा ८ मा पढ्दापढ्दै बीचमै पढाइ छोडेर ज्याला मजदुरी गर्न थालेका छन् । कसैले पढाउने खर्च दिए हुन्थ्यो भन्ने उनलाई लागेको रहेछ ।

....................