इनरुवाः सुनसरीको पूर्व पश्चिम राजमार्ग स्थित तित्रीबनमा भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ ।

को ७ प ५०३३ नम्बरको मोटरसाइकल ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक रामधुनी–३ का २८ वर्षीय उमेश चौधरीको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको ट्रकमा पश्चिमबाट पूर्व जाँदै गरेको मोटरसाइकल ठोक्किँदा चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडी सवार उदयपुरको गाईघाट– ८ बस्ने २२ वर्षीय संगम राई घाइते भएका छन् । घाइते राईलाई उपचारका लागि विराटनगरको नोबेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय इनरुवाले जनाएको छ ।

मृतक चौधरीको शव जिल्ला अस्पताल इनरुवामा राखिएकोे जिल्ला प्रहरी कार्यालय इनरुवाले बताएको छ । ट्रक तथा ट्रक चालक बाराको निजगढ–८ बस्ने ३३ वर्षीय प्रकाश प्रधानलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको नियन्त्रणमा राखिएको बताइएको छ ।