धरानः बिहान बेलुकी अरुको काम गरेर जीविका चलाउने सुकुम्बासी बिरामी हुँदा अस्पताल सम्म पुग्न सक्दैनन् । सरकारले निःशुल्क उपचार गर्दैन । उपचारमा सहायता उपलब्ध गराउने ठाउँसम्म पुग्न बिरामी सक्दैनन् भने सजिलै उपचार सेवा पाउने गरीको पहुँच पनि उनीहरूसँग छैन ।
त्यसैले धरानको १६ नम्बर वडाका विभिन्न सुकुम्बासी बस्तीका १४ जनाभन्दा बढी बिरामीहरू अस्पताल जाने खर्च कुरेर बसेका छन् । तर सहयोग कहीँबाट पाएका छैनन् । नेपालको संविधानले हरेक नागरिकले मौलिक हकको रूपमा स्वास्थ्य सेवालाई राखेको छ तर सुकुम्बासी र उनीहरूजस्तै आयस्तर नभएकाहरू मौलिक अधिकार पाउनबाट पनि वञ्चित भएका छन् ।
धरान–१६ स्थित सिमाना बस्तीको एकै टोलमा ३ जना अशक्तको खर्च अभावमा उपचार हुन सकेको छैन । सुकुम्बासी बस्तीभित्र रहेको सिमाना टोलका ३ जना महिलाहरू गम्भीर प्रकृतिका रोगसँग लडिरहेका छन् । धरान १६ नम्बर वडाका वडाध्यक्ष दिलकुमार गिरीले उनीहरूलाई सहयोग आवश्यक रहेकाले यथासक्य सहयोग गर्न पनि आग्रह गरेका छन् ।
गिरीका अनुसार १६ नम्बरमा अहिलेसम्म १४ जना असहाय र अशक्त बिरामी भेटिएका छन् । त्यसमध्ये ७ जना महिला र ७ जना पुरुष रहेको गिरीको भनाइ छ । ‘खासगरी सुकुम्बासी र निम्न आयस्तर भएकाहरू यस्तो अवस्थामा भेटिनुभएको छ,’ उहाँहरूलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले छलफल गरिरहेका छौँ ।
धरान–१६ स्थित सिमाना टोलकी ६० वर्षीया तारा त्रिखत्री क्यान्सरका कारण थलिएकी छिन् । उनका छोरा रमेश त्रिखत्रीका अनुसार ६ महिना अगाडि मुखमा क्यान्सर भएको पत्ता लागेपछि भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारका लागि लगिएको छ । हालसम्म ४ लाख रुपैयाँ उपचारको क्रममा खर्च भइसकेको उनले बताए ।
‘अहिलेसम्म जसोतसो सहयोग जुटाएर उपचार गराइरहेको थिएँ । अब खर्च सबै सकिएको छ । खर्च नभएकै कारण उपचार रोकिने अवस्था छ । सिमाना टोलबासीले उनको उपचारको लागि सहयोग रकम सङ्कलन पनि गरिरहेका छन् तर पनि उपचारका लागि पर्याप्त रकम सङ्कलन गर्न सकिरहेका छैनन् ।
सिमाना टोलमै बस्ने मिठू मोक्तानको मेरुदण्डमा नसा च्यापिएर कम्मरदेखि तलको भाग चल्न छाडेको छ । तर उनको उपचार गर्ने खर्च र आफन्त दुवै छैनन् । उनी अहिले टोलवासीको शरणमा बसेकी छिन् । उनका श्रीमान्को मृत्यु भइसकेको र छोराछोरी पनि नभएका कारण उपचारमा समस्या भएको स्थानीयको भनाइ छ । सोमबार क्यान्सरपीडित तारा त्रिखत्रीलाई नेकपा धरानको वडा नम्बर १६ ले ५ हजार रुपैयाँ सहयोग गरेको छ भने वडाध्यक्ष गिरीले मिठूलाई ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
सिमाना टोलमै ९५ वर्षीया फूलमाया तामाङ पनि अशक्त अवस्थामा बसेकी छिन् । उनका छोरीहरू अपाङ्ग छन् । उनी उठेर हिँड्न र आँखा देख्न सक्दिनन् । उनलाई कुन रोग लागेको छ भन्ने पनि थाहा भएको छैन । ‘उपचार गराउने खर्च छैन,’ उनले भनिन्, ‘अब दुःख पाएरै मरिने भइयो ।’
उनलाई हिँडडुल गर्न ह्वील चेयर आवश्यक परेको छ तर खर्च अभावका कारण ह्वील चेयर किन्न सकेकी छैनन् । स्थानीयहरूले पनि सहयोगको प्रयास गरेका हुन् तर सुकुम्बासी बस्तीमा सबै मजदुरी गरेर जीविका चलाउने भएकाले पर्याप्त रकम सङ्कलन हुन सकेको छैन । वडाध्यक्ष गिरीले यो समस्या समाधान गर्न धरान उपमहानगरपालिका नगर कार्यपालिकामा प्रस्ताव लैजाने तयारी गरेको बताए ।