विराटनगरः सत्ता पक्षका सांसदले प्रदेश एक सरकारको तीव्र आलोचना गरेका छन् । बुधबार प्रदेश सभाको बैठक कक्षमा भएको सांसदहरूको भेलाले मुख्य तीन विषयमा छलफल चलाएको थियो । जसमध्ये सरकारले भर्खरै सदनमा पेश गरेको बृहत विराट क्षेत्र विकाससम्बन्धी विधेयकको आलोचना भएको हो ।

दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सांसदले सो विधेयकबारे राखेका असन्तुष्टिलाई सम्बोधन गर्ने काम भएको जानकारी दिए । योसँगै बैठकले सरकार सञ्चालन र पार्टीलाई तिर्ने लेबीबारे समेत छलफल भएको थियो ।

मन्त्री नभएको मन्त्रालयमा जनताले सोचेअनुसार काम नभएको भन्दै सांसदले सरकारको आलोचना गरेका छन् । मुख्यमन्त्रीले नै हेरेको भौतिक पूर्वाधार र भूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्रालयमा जनताले चाहे अनुसारको कामै नभएको उनीहरूले बताए ।

सांसदले संसदीय दलको बैठकमा सरकारले गरेका समग्र कामको बारेमा प्रश्न उठाएका थिए । ‘सबै कामको बारेमा मूल्याङ्कन भएको छ,’ प्रमुख सचेतक राजभण्डारीले भने, ‘मन्त्री नभएको बेलामा कर्मचारीले कानमा तेल हालेकोे हो कि भन्ने सांसदको प्रश्न थियो ।’

सांसदको प्रश्नमा मुख्यमन्त्री राईले काममा त्यस्तो समस्या नभएको भन्ने जवाफ दिएको बताए । यदि समस्या आएको भए त्यसलाई समाधान गर्न सकिने मुख्यमन्त्रीले जवाफ दिएको राजभण्डारीले बताए ।