धनकुटा: पूर्व उपप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहसहित दर्जन पूर्व मन्त्री तथा केन्द्रीय सदस्य शुक्रबार धनकुटा आउने भएका छन् ।
१ नम्बर प्रदेशको कोशीका पहाडी जिल्लाको भ्रमणको सिलसिलामा उनीहिरू धनकुटा आउन लागेका हुन् । नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री तथा पूर्व उप प्रधानमन्त्री प्रकाशमान सिंहसँगै केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीहरू बलबहादुर केसी, हृदयराम थानी, राजन केसी, सरिता प्रसाईं, दीपक खड्का तथा नेपाली काङ्ग्रेसका काठमाडौंका सभापति सुबोध बानियाँ, इलामका सभापति हिमाल कर्मचार्य, पाँचथरका समभापति नरेन्द्रकुमार केरुङ र उदयपुरका सभापति विदुर बस्नेत आउने भएका छन् ।
त्यस्तै, खोटाङका सभापति नरेश श्रेष्ठ, पूर्व सांसद तथा नेपाल आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष नरेन्द्र कुमाल, नेवि सङ्घका केन्द्रीय समितिका पूर्व प्रवक्ता युपी लामिछाने लगायतका नेता धनकुटा आउने नेपाली काङ्ग्रेस धनकुटका सचिव विजयसन्तोषी राईले जनाए ।
नेताहरू धनकुटा आए पनि हालै निधन भएका नेपाली काङ्ग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष रामकृष्ण ताम्राकारको शुक्रबार नै शोक मनाइने भएकाले धनकुटामा कुनै पनि औपचारिक कार्यक्रम भने नहुने जनाइएको छ । बैशाख १४ गतेदेखि भने पूर्व पहाडी जिल्लाको तेह्रथुमबाट आमसभा गर्ने तयारी समेत काङ्ग्रेसको छ ।
धनकुटा बसाइका क्रममा नेताले पार्टी कार्यालयमा स्थानीय नेता कार्यकर्ता, काङ्ग्रेस निकट भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारसँग अनौपचारिक रूपमा मात्र भेटघाट गर्ने धनकुटा काङ्ग्रेसले जनाएको छ । शोकका कारण नेपाली काङ्ग्रेस धनकुटामा अन्य औपचारिक कार्यक्रम राखिएको छैन ।