भोजपुरः गृहमन्त्री रामबहादुर थापा बादलले अबको लक्ष्य समाजवाद भएको बताएका छन् । उनले विकास र समृद्धिको उच्चतम अवस्थामा मात्र यो सम्भव भएकाले धनी र गरीबबीचको असमानता हटाउँदै सबै जनतालाई सुखी र समृद्ध बनाउन विकासलाई तीव्र पार्नुपर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयको भवन तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको उद्घाटनका लागि उनी भोजपुर आएका हुन् । गृहमन्त्री थापाले नेकपाका जिल्लास्थित नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पार्टी एकता भएपछि लोकतन्त्रविरोधी आक्रोशित भएको बताए । समाजवाद ल्याउन एउटा सशक्त र शक्तिशाली नेतृत्व र सङ्गठन चाहिएकाले पार्टी एकता गरिएको उनको भनाइ थियो ।
गृहमन्त्रीले सर्वहारा वर्गका विरोधीहरूले मुलुकको समृद्धि र विकासका लागि लडेर ल्याएको उपलब्धीलाई उल्ट्याउन सलबलाइरहेको टिप्पणी गरे । मन्त्री बादलले उनीहरूको पछाडि लाग्यो भने उपलब्धी उल्टिने खतरा रहेकाले सबै सचेत हुनुपर्नेमा सजग गराएका छन् ।
भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकमा विकास वृद्धि दर बढिरहेको र अर्को वर्षसम्म यसलाई ७ प्रतिशतमाथि पु¥याउने लक्ष्य राखिएको उनले बताए ।
‘देश विकासमा अघि बढिसकेकाले विकास वृद्धि दरलाई डबल डिजीटमा पु¥याएर छाड्छौं,’ उनले भने, ‘यसमा सबैको सहयोग र समन्वयको आवश्यकता छ ।’
२०६० फागुन १९ गते भोजपुर भीडन्तको क्रममा तत्कालीन विद्रोही पक्षबाट क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको भवन पुनर्निर्माण गरी २०७३ बैशाख १ देखि नयाँ भवनबाट प्रशासनिक काम शुरु गरिएको थियो ।
त्यस्तै जिल्लामा आपतमा परेका तथा क्षति पुगेकाहरूको राहत तथा उद्दारका लागि स्थानीय तहसँग समन्वय गरी जिल्ला आपतकालीन सञ्चालन केन्द्र स्थापना गरिएको हो ।
सो केन्द्रका लागि भोजपुर र षडानन्द नगरपालिकाको सहयोगमा नेपाली सेनाको ब्यारेक परिसरमा नाइट भिजन सुविधासहितको हेलिप्याड निर्माण गरिसकिएको छ । अन्य ७ वटा गाउँपालिकाहरू प्रत्येकले १ लाखबराबरको राहत सामग्री उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।