मेचीनगरः झापाको मेचीनगरमा आयोजित एक कार्यक्रमका सहभागीले बालबालिकाको पहिलो पाठशाला घर भएकाले घरबाटै असल व्यवहारको शिक्षा दिनुपर्ने बताएका छन् ।
बाल जागरण मञ्च नेपालले मेचीनगरको वडा नम्बर ६ को सहकार्यमा काँकरभिट्टास्थित एनएमसी सभाहलमा आयेजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।
बालबालिकाको क्षमता अभिवृद्धिका लागि सरोकारवालासँगको अन्तरक्रिया तथा छलफलमा सहभागीले घरबाट जस्तो कुरा सिकायो उनीहरूले त्यस्तै कुरा सिक्ने भएकाले घरबाट नै उनीहरू सक्षम हुनपर्ने बताएका थिए । प्रमुख अतिथि वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङले हरेक अभिभावकले आफ्ना नानीलाई असल शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, अभिभावक, प्रहरी, समाजसेवी, बाल अधिकार अभियन्तालगायत ३० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
बाल जागरण मञ्च नेपालका अध्यक्ष मणिकुमार लिम्बूको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्द न्यौपाने, बिना तामाङ, सोमराज ढकाल, बालकृष्ण सापकोटा, केशर तिम्सिना, निशान्त राई, राजीव भुजेल, मिलन राई, प्रेनिजा ढकाललगायतले आफ्नो अनुभव तथा जिज्ञासा राखेका थिए ।