पथरीः पूर्वी मोरङको पथरीशनिश्चरे–१ स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले सिमसार क्षेत्रमा बालमैत्री पार्क निर्माण गर्ने योजना बनाएको छ । अध्यक्ष कुलबहादुर गुरुङले आ.व. २०७५÷०७६ भित्रमा बालमैत्री पार्क निर्माण गर्ने योजना रहेको बताए ।
समूहले उपभोक्तालाई उद्यमशील बनाई आर्थिक उपार्जनको निम्ति सिमसार क्षेत्रमा पर्यटन उद्योग सञ्चालन गर्ने योजना बनाएको अध्यक्ष गुरुङले जानकारी दिए । यस्तै ज्येष्ठ नागरिकलाई सिमसार क्षेत्रमा प्रवेश निःशुल्क गर्ने अध्यक्ष गुरुङले उद्घोष गरे ।
चालु आर्थिक वर्षमा वन समूहले भुल्के सिमसार प्रवेश गर्ने आकर्षक प्रवेशद्वार निर्माण गर्नुका साथै प्रवेशद्वारदेखि पोखरीसम्म आकर्षक पार्क निर्माण गरेको छ । प्रवेशद्वारदेखि पोखरीसम्म फराकिलो बाटोमा इन्टरलक ब्लकलगाएर बाटोको दुवैतर्फ बगैंचा र त्यसभित्र शालिक निर्माणका लागि बेस निर्माण गरिएको छ ।
यसैगरी, समूहले सिमसार वरपर वनभोज टहरा, फलैंचा, चौतारा निर्माण गरेको छ । आगन्तुकलाई खानेपानीको लागि ५ वटा ट्युबवेल स्थापना गर्नुका साथै २ वटा धारा जडान गरेको छ । पर्यटकका लागि महिला र पुरुष शौचालयको व्यवस्था गरेको छ । प्रवेशद्वारदेखि पोखरीसम्म जाने बाटोमा दुबो र विभिन्न फूलहरूबाट सामुदायिक वनको नाम तथा लोगोअङ्कित पार्क निर्माण गरेको समूहकी सचिव मेनुका राईले जानकारी दिइन् ।
पृथ्वीको तापक्रम बढिरहेको अवस्थामा सिमसार संरक्षणले तापक्रम वृद्धि केही रोक्ने बताउँछन् इलाका वन कार्यालय पथरीका प्रमुख सहायक वन अधिकृत मोहम्मद अलाउद्दीन । सिमसार संरक्षण गर्दा पोखरीमा माछा पालन गरेमा समूहको वैकल्पिक आम्दानी बढ्ने उनको भनाइ छ ।
वन समूहले सिमसार क्षेत्र प्रवेशद्वार निर्माण गरी टिकटको व्यवस्था गरेको छ । सिमसारमा सुन्दरता बढेसँगै पर्यटक भित्रिने क्रम बढेको छ ।
आकर्षक गेट अगाडिको पानीको फोहरा हेर्नलायक छ । गेटको अग्रभागमा सुन्दर चित्रहरू बनाइएको छ । यस्तै, सिमसार क्षेत्रमै भुल्केमा जलधारा बनाइएको छ । सिमसारको आकर्षण बढ्दै गएको छ ।