धरानः नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन धरानको १३ औँ अधिवेशनले कमल भट्टराईलाई पुनः अध्यक्षमा चयन गरेको छ । शनिबार सम्पन्न अधिवेशनले भट्टराईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा बलबहादुर लिम्बू, सचिवमा विकेश श्रेष्ठ, सहसचिवमा तीर्थ दाहाल र कोषाध्यक्षमा रुद्र श्रेष्ठ चयन भएका छन् । नयाँ कार्यसमितिले आफ्नो नयाँ वार्षिक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

अधिवेशनले आगामी एक वर्षभित्रमा ७ सय नयाँ सदस्य वृद्धि गर्ने र ५ सय जना पुराना सदस्यको सदस्यता नवीकरण गर्ने निर्णय गरेको सङ्गठनका अध्यक्ष भट्टराईले जानकारी दिए । सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले मजदुरको व्यावसायिक हितलाई ख्याल गर्दै अगाडि बढ्न नयाँ कार्यसमितिलाई आग्रह गरे ।

३ जना पत्रकार र ६ जना मजदुर सम्मानित
यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको अधिवेशनको अवसर पारेर मजदुरको पक्षमा निरन्तर कलम चलाउने ३ जना पत्रकार र उत्कृष्ट ६ जना मजदुरलाई सम्मान गरिएको छ ।

पत्रकारहरू नागरिक दैनिकका रोहित राई, औजार दैनिकका रणध्वज लोहार र विकास चाम्लिङलाई अधिवेशनको अवसरमा सम्मान गरिएको थियो । उनीहरूलाई सङ्गठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले सम्मान गरेका थिए ।

त्यसैगरी, उत्कृष्ट मजदुर राम बिक, निरबहादुर राई, चिरञ्जीवि श्रेष्ठ, शेरबहादुर मगर, हर्कबहादुर राई र बुकिङ कर्मचारी रमेश श्रेष्ठलाई पनि सम्मान गरिएको थियो ।

यातायात क्षेत्रमा श्रमिक मजदुरको उत्साह तथा व्यावसायिकतालाई बल पुग्नेगरी काम गरेको भन्दै उनीहरूलाई सम्मान गरिएको आयोजकको भनाइ छ ।