भोजपुर: भर्खरै प्रमुख प्रशासकको जिम्मेवारी लिएर आएका भोजपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले सुशासन र विकासको लागि जिल्लावासीले अनुभुत गर्ने खालको काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लाका सञ्चारकर्मीसँगको सोमबार भएको परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा प्रजिअ खतिवडाले सबै सरकारी निकायहरुलाई जनताप्रति जिम्मेवार र उत्तरदायी बनाउन कार्यालय प्रमुखहरुको नियमित बैठक र अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने बताए ।
‘कार्यालय प्रमुखहरुलाई जिल्ला प्रशासनमा बोलाएर सिडिओले निर्देशन मात्र दिने परिपाटीको अन्त्य गर्दै उनीहरुले गरेका कामको प्रगतिमाथि सरोकारवालासमेत ल्याएर छलफल गराई सुझाव लिने बानी गराउँछु ।’ सिडिओको भनाइ थियो ।
छिमेकी जिल्ला धनकुटामा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेर यहि बैशाख १ गतेबाट भोजपुरमा हाजिर भएका प्रजिअ खतिवडाले जनताले जिल्लामा जुनसुकै सरकारी काममा कुनै किसिमको झन्झट व्यहोर्नु नपर्ने गरि सबै संयन्त्रलाई परिचालन गर्ने बताए ।
कार्यक्रमममा नेपाल पत्रकार महासंघ भोजपुरका अध्यक्ष श्यामकृष्ण दाहालले जिल्लामा देखिने खालका केहि काम गरेर कतिपय कर्मचारीहरुको दुर्गम क्षेत्रमा काम गर्नुपर्दाको उदाशीनताबीच उदाहरणीय बन्न प्रजिअको ध्यानाकर्षण गराए । पत्रकार दाहालले हिले भोजपुर लगायतका जिल्लाका मुख्यमुख्य सडकलाई वर्षात्को समयमा पनि निरन्तर सञ्चालन हुन, भोजपुरको दक्षिणी क्षेत्रको दुधकोशी र अरुण नदीबाट सुनसरीको चतरासम्म सञ्चालन हुने मोटरबोटको नियमन र जवाफदेहि बनाउन पहल गर्न प्रशासनले कारवाही अगाडी बढाउनुपर्ने बताए ।
पत्रकार एक्सन राई लगायतले जिल्लास्थित पूर्वाधार विकाससँग सम्बन्धित कार्यालयको कामकारवाहीलाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको औंल्याए ।