बेलबारीः बेलबारीकी १ जना कार्यपालिका सदस्यले एक अपाङ्ग महिलाका लागि आफैं नेतृत्व गरेर घर बनाइदिएकी छिन् ।
बोली नआउने बेलबारी–२ की देशमाया राईलाई टिनको छानो भएको १ तले घर निर्माण गरी एक कार्यक्रमको आयोजना गरी सोमबार हस्तान्तरण गरिएको हो । ३ लाख ६४ हजार ६ सय ५० रुपैयाँमा ३ कोठे घर निर्माण गरी उनलाई हस्तान्तरण गरिएको हो ।
‘केही महिना अघि हामीले उनीहरू लेटाङमा बस्छन भन्ने थाहा पायौँ’, कार्यपालिका सदस्य खिना थापा बस्नेतले भनिन्, ‘हेर्न गएपछि त्यहाँ छोड्न मन लागेन र ल्यायौँ । दिदीभाइ एउटा पुरानो घरमा बस्दा रहेछन् ।’
देशमायाका भाइ राजकुमार राईको भने केही समय अघि उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको उनले बताइन् । देशमायाका लागि वासस्थान र खानाको बन्दोबस्त गरेको उनले बताइन् । घर पाएपछि देशमायाले खुशी हुँदै घर हस्तान्तरणमा भेला भएकाहरूलाई नाच्दै हाँस्दै चकलेट बाँडेकी थिइन् ।
अन्दाजी ६० वर्षीया देशमायाको नागरिकतासमेत छैन । घरको उद्घाटन गर्दै बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले उनको नागरिकता बनाउन पहल गर्ने बताइन् ।