विराटनगर: प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटामा राख्ने सरकारले निर्णय गरेको छ । नाम र राजधानीको प्रस्ताव प्रदेशसभामा बैसाख १९ गतेभित्र गरिसक्न आह्वान गरिएको अवस्थामा सरकारले राजधानीकै माग गरिरहेको धनकुटामा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकबाट साविकको पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम धनकुटामा अवस्थित क्षेत्रीय प्रशासन कार्यालयमै रहने गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो । संघीय सरकारले केहीअघि मात्र यो कार्यालय खारेज गरेको थियाे ।

त्यहाँ खाली अवस्थामा रहेको भवनलाई नै प्रयोग गर्ने सरकारले सम्पर्क कार्यालय राख्ने निर्णय गरेको हो ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार धनकुटामा यातायात सेवा कार्यालय पनि स्थापना गर्ने सरकारले निर्णय गरेको छ ।