विराटनगरः विश्व मजदुर दिवसको दिन विराटनगरमा आयोजना भएको कार्यक्रममा मजदुरका मुुद्दा भने ओझेलमा परेका छन् ।

नेपाली काङ्ग्रेस सम्बद्ध ट्रेड युनियनले गरेको कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले मजदुरसँग सम्बन्धित कुराभन्दा पनि विराटनगरलाई प्रदेश एकको राजधानीबाट अलग गराउने खेल भएको भन्दै सत्ता पक्षसँग आक्रोश पोखेका छन् ।

कार्यक्रमका अतिथि रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विराटनगरको शाख गिराउन खोजिएको भन्दै त्यसविरुद्ध जुुट्नुपर्ने बताए । उनले मजदुरलाई लक्षित गर्दै भने, ‘विराटनगर मजदुरले सिँचिएको थलो हो, यसविरुद्ध खेलबाड हुन आँटेजस्तो देखिएको छ ।’ उनले विराटनगरको गरिमालाई घट्न नदिन सरकारलाई खबरदारी गर्नुपर्ने बताए ।

त्यस्तै, नेपाली काङ्ग्रेस प्रदेश १ संसदका प्रमुख सचेतक केदार कार्कीले विराटनगर विरुद्ध नेताले थाल्न लागेको चालबजी बुुझ्दै गएको भन्दै २ दिन मात्र चुप लागेर बस्न मजदुरलाई आग्रह गरेका छन् । उनले मजदुरको ऐतिहासिक थलोलाई गुमनाम बनाउन खोजिए त्यसका लागि एकजुट हुन आग्रह गर्दै भने ‘कुनकुन नेताले केके चाल चाल्दैछन् हामी बुुझ्दै छौँ, अब मजदुरहरूले साथ दिने बेला भएको छ ।’

काङ्ग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले नेकपा सम्बद्ध दलले दुुई तिहाइको दम्भले विराटनगरको भविष्यमाथि खेलबाड गर्न लागेको बताए । उनले नेपाली काङ्ग्रेस चुप लागेर नबस्ने भन्दै प्रदेशभित्रका सम्पूर्ण काङ्ग्रेसहरू नेकपाको एकलौटी निर्णयका विरुद्ध एकताबद्ध हुनुपर्ने बताए । उनले विराटनगर सबै हिसाबले उत्कृष्ट ठाउँ भएको भन्दै अन्य ठाउँमा तोकिने राजधानी पार्टीलाई अमान्य हुने र त्यसको जनताले प्रतिकार गर्ने दाबी गरे ।

हिजो विराटनगरमा बसेको काङ्ग्रेस संसदीय दलको बैठकले राजधानी बारे धारणा सार्वजनिक गर्न दुुई दिन कुुर्ने बताएको छ । मङ्गलबार बसेको बैठकले १९ गते संसदमा पेश हुने प्रस्तावलाई पर्खिई धारणा सार्वजनिक गर्ने बताउँदै आएको छ ।

नेकपाका केही सांसदले भने इटहरीमा संसद र मोरङको गोठगाउँमा राजधानी राख्ने बारे हस्ताक्षर सङ्कलन गरिरहेको बुझिएको छ ।